काठमाडौं । नेपाली बजारमा विगत ४५ वर्षदेखि निरन्तर वर्चस्व कायम राख्दै आएको वाइवाइ चाउचाउले हरेक वर्ष उच्च वृद्धिदर हासिल गर्दै आएको छ ।आफ्नो उच्च वृद्धिदर कायम राख्दै गत आर्थिक वर्ष ०८१/०८२ मा वाइवाइले १५ प्रतिशत वृद्धिदर हासिल गर्दै नेपाली चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको यसको उत्पादक कम्पनी सीजी फूड्सले जनाएको छ । २० रुपैयाँ मूल्य श्रेणीमा मात्र वाइवाइको हिस्सा झन्डै ७० प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

विश्वभर वार्षिक रूपमा करिब ४ अर्ब प्याकेट उत्पादन हुँदै आएको वाइवाइ चाउचाउ नेपालमा मात्र हरेक महिना १२ लाख कार्टुन भन्दा बढी उत्पादन हुने गरेको छ । वाइवाइका अन्य संस्करण समेत हिसाब गर्दा सीजी फुड्सले नेपालमा मात्र प्रति महिना २२ लाख कार्टुन चाउचाउ उत्पादन गर्दै आएको दाबी गरेको छ ।

वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनीका अनुसार कम्पनीले बजारको विविधतासँगै नयाँ स्वाद र श्रेणीका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ।उनका अनुसार नयाँ पुस्ताको स्वाद र प्राथमिकता अनुसार ब्रान्डले लगातार नविन संस्करणहरू बजारमा ल्याइरहेको छ। र, हालै आएको ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ ले समेत बजारमा युवाहरूको मन जित्न सफल भएको ।

‘ग्राहकको भरोसा, हाम्रो इतिहास र गुणस्तरको निष्ठाले हामीलाई जहिल्यै अग्रणी बनाइराख्न सहयोग गरेको छ,’ पुडासैनीले भने, ‘हामी हरेक सेग्मेंटमा अगाडि छौँ। अब स्पाइसी सेग्मेंटमा पनि हामी नै अगाडि हुने लक्ष लिएका छौँ ।’

४५ वर्षअघि उत्पादन सुरु भएको वाइवाइ हाल नेपालसँगै भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान, अफ्रिका, लगायतका देशहरूमा पनि उत्पादन हुँदै आएको छ र ४० भन्दा बढी देशहरूमा उपलब्ध छ । यसले वाइवाइलाई नेपालको पहिलो र एक मात्र विश्वव्यापी ब्रान्डको रूपमा स्थापित गराएको छ।

विशेष गरी प्रवासी नेपाली समुदायमा वाइवाइको लोकप्रियता अत्यधिक छ। ‘घरतिरको स्वाद’ भनेर चिनिने वाइवाइ नेपाली उपभोक्तामाझ मात्र होइन, विदेशी बजारमा पनि नेपाली स्वादको प्रतिनिधिको रूपमा प्रस्तुत हुँदै आएको छ।

‘देशबाहिर गएका लाखौँ नेपालीका लागि वाइवाइ केवल एक खानेकुरा होइन-त्यो घरको स्वाद हो। विदेशमा रहेका नेपालीहरूलाई वाइवाइ घरको तृष्णा मेटाउने माध्यम समेत बनेको छ । यो हाम्रो लागि गर्वको विषय हो,’ पुडासैनीले भने, ‘बिदाको दिनको पिकनिक होस् वा होस्टलको मध्यरातको भोक, लामो यात्रा होस् वा स्कुल जाँदाको क्षण-वाइवाइ सधैं नेपालीहरुको साथीको रूपमा रहेको छ ।’

पकाएर, सुप बनाएर, चटपटे बनाएर, साँधेर वा काँचै पनि खाजाको रूपमा खान मिल्ने भएकाले वाइवाइ ‘सजिलो र सुपथ’ खाजाका रूपमा परिचित छ । कम्पनीका अनुसार वाइवाइको लोकप्रियताको सूत्र भनेकै गुणस्तरको निरन्तरता, उपभोक्ताको मनोविज्ञान बुझ्ने क्षमता र यसले बोकेको गौरवपूर्ण इतिहास हो । ‘वाइवाइ स्वाद र गुणस्तरमा उपभोक्ताको मन जित्दै ग्लोबल ब्रान्ड बनेको हो,’ पुडासैनीले थपे।

हाल विश्व चाउचाउ बजारको करिब ४ प्रतिशत हिस्सा ओगट्दै आएको वाइवाइले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, उच्च सम्भावना भएका थप देशहरूमा उद्योग स्थापना गर्ने र ग्लोबल मार्केटमा वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय