सिरहा । प्रादेशिक अस्पताल सिरहामा आज मधेश प्रदेशका स्वास्थ्यमन्त्री सत्रुधनसिंह कोइरीले छड्के अनुगमन गरेका छन् ।
अस्पतालमा सरसफाइ र जीवनजललगायत औषधि अभावको गुनासो आएकाले मन्त्री कोइरीले अनुगमन गरेका हुन् ।
मन्त्री सिंहले प्रादेशिक अस्पतालमा सञ्चालित स्वास्थ्य सेवाबारे जानकारी लिँदै नागरिकलाई स्तरीय स्वास्थ्य सुविधा र नागरिकमैत्री व्यवहार कायम राख्न निर्देशन पनि दिएका छन् ।


आइसियू, एनआइसियू, आकस्मिक, बहिरंगलगायतको सेवामा नागरिकलाई विशेष ध्यान दिँदै उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । १५० शय्या क्षमताको अस्पताललाई विशेषज्ञ सुविधा प्रदान गर्न प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने भन्दै मन्त्री सिंहले जनशक्ति, साधनस्रोतको व्यवस्थापनमा आफूले पहल गर्ने बताए ।

अनुगमनको क्रममा सबै पक्षसँग कुराकानी गरेको भन्दै मन्त्री सिंहले प्रादेशिक अस्पताल सिरहालाई थप विशेषज्ञ सेवाहरूको निम्ति नीतिगत कामहरू भइरहेको बताएका छन् ।

रेफरल अस्पतालबाट सुविधासम्पन्न अस्पताल बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै मन्त्री सिंहले अस्पतालको दिगो विकासको निम्ति मास्टरप्लानको आवश्यकता महसुस भएको बताए ।
अनुगमन गर्न आएका मन्त्री सिंहलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र यादव र मेसु सुनिल कुशवाहलगायतले समस्याहरूबारे जानकारी गराएका थिए ।




