वीरगञ्ज । गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।अघिल्लो आव २०८०–८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।
गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ ।अघिल्लो आवमा यो नाका हुँदै ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ । गत आवमा रु ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।जबकी अघिल्लो आवमा ९ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो ।त्यसैगरी गत आवमा ९ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख ९ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ ।
अघिल्लो आवमा १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।गत आवमा सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।
गत आवमा पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ ।अघिल्लो आवको सोही अवधिमा आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।




