काठमाडौं। नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो ।एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो ।
नेपालमै पहिलो पटक पियर एक्सचेन्ज प्रत्यारोपण भने १२ साउन २०७३ का दिन भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको थियो । त्यतिवेला मिर्गौला फेल भएका विरामी बिष्णुबाबु श्रेष्ठको आफन्त र अर्का विरामी खेमराज निरौलाको आफन्तले एक अर्काका सदस्यलाई मिर्गौला उपलव्ध गराई प्रत्यारोपण गराएका थिए । श्रेष्ठलाई मिर्गौला दान दिने भनेकी उनकी दिदी यीमाया थापाले निरौलालाई र निरौलालाई मिर्गौला दिन खोजेकी उनकी श्रीमती मातृकादेवी चापागाँईले श्रेष्ठलाई मिर्गौला दिएका थिए ।

यता मेडिसिटी अस्पतालले प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको बताएको छ । अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।




