काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ, जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे ।त्यस्तै दुई देशबीच मानव संसाधन विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।सो अवसरमा रसुवागढी–केरुङ अन्तर देशीय विद्युत् प्रशारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे ।त्यस्तै, रसुवामा केही समयअघि बाढीले पुर्याएको भौतिक संरचनाको पुननिर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय