सिरहा। सिरहा प्रहरीले भारत तस्करी गर्न प्याकिङ गरेर राखिएको अवैध लागुऔषध गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले ७ सय १६ किलोग्राम अवैध गाँजा बरामद गरेको हो । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियाका ६० वर्षीय मेदी यादवको घरमा लुकाएर राखेको लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र कुमार पासवानले बताएकाछन् । प्रहरी चौकी सिलौर्वापछवारीबाट प्रसनि नन्दु राउत कम्करको कमान्डमा चारजना र सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुरबाट सप्रनानि अनिलकुमार यादवको नेतृत्वमा चारजना गरी आठजनाको संयुक्त टोलीले मेदी यादवको घरभित्र लुकाएर राखेको तयारी अवस्थाको २६ पोका र थप अनुसन्धान तथा मुचुल्काका लागि जिप्रका सिरहाबाट पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) राज यादवको कमान्डमा रहेको प्रहरी टोलीले थप एक पोका गरी २७ पोका लागुऔषध गाँजा बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए । गाँंजा बरामद भएको घरधनी मेदी यादव फरार रहेकाले खोजतलास भइरहेको डिएसपी पासवानले बताए । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





