काठमाडौँ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोले वितण्डा मच्चाउँदा पूर्वपश्चिम राजमार्ग, बीपी राजमार्ग र रसुवाका मुख्य सडकहरू अवरुद्ध भएका छन्, जसले गर्दा हजारौँ यात्रु अलपत्र परेका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ। रसुवामा बाढी र पहिरोले मानवीय क्षतिसमेत गरेको छ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सडक भासियो, यातायात ठप्प
देशको प्रमुख यातायात धमनी मानिने पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को दाउन्नेमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक वर्षाले सडकको ठूलो हिस्सा भासिएको हो। सोही ठाउँमा गए राति लु१क ५८२७ नम्बरको ट्रक फसेपछि बर्दघाट–दुम्किबास खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनलाई बर्दघाटको टिसिएन चोकमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारीलाई दुम्किबासमा रोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो। “सडक खुलाउने प्रयास जारी छ, तर लगातारको वर्षाले काम गर्न कठिनाइ भइरहेको छ,” डीएसपी पन्तले भन्नुभयो।नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत दाउन्नेको १४ किलोमिटर खण्डको निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण यस क्षेत्रमा पटक–पटक सडक भासिने र पहिरो खस्ने समस्याले यात्रुहरूले सास्ती भोग्दै आएका छन्।

बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो, सवारी साधन होल्डमा
यसैगरी, अविरल वर्षाका कारण बीपी राजमार्ग पनि अवरुद्ध बनेको छ। काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थलीबेशी, फेदीखोला र वडा नं. ७ को चारसय बेशीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार फेदीखोलाको लेदो हटाएर एकतर्फी यातायात सुचारु गरिएको छ भने अन्य स्थानमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ। सडक विभाग र रोशी गाउँपालिकाको समन्वयमा डोजर प्रयोग गरी बाटो खुलाउने प्रयास भइरहेको र केही समयभित्रै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने प्रहरीले जनाएको छ।राजमार्ग अवरुद्ध भएपछि सिन्धुलीबाट काभ्रेतर्फ आउने सवारी साधनलाई सिन्धुलीमै र काभ्रेतर्फबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङ र भकुण्डेमा होल्डमा राखिएको छ।

रसुवामा पहिरो र बाढीको वितण्डा, ९ को मृत्यु, सडक सञ्जाल तहसनहस
उता, रसुवामा बाढी र पहिरोले सडक सञ्जाल तहसनहस पार्नुका साथै ठूलो मानवीय क्षतिसमेत भएको छ। धुन्चे–स्याफ्रुबेसी सडक खण्डको ठूलो भार्खु भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउन प्रयास गरे पनि चट्टानसहितको पहिरो लगातार झरिरहेकाले समय लाग्ने बताइएको छ।

यसअघि मंगलबार तिब्बततर्फबाट बग्ने भोटेकोशी नदीमा आएको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड क्षतविक्षत बनाएको छ। सो बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन्। बाढीले रसुवागढी भन्सार कार्यालय, पुल, सडक र पार्किङमा राखिएका मालवाहक तथा साना सवारी साधनसमेत बगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय