सिरहा । सडक डिभिजन कार्यालय लहानको लापरबाहीको कारणले गुणस्तरहीन सडक ढलानको काम भईरहेको छ ।
माडर बजारदेखि सदरमुकाम सिरहा आउने सडकमा ढलान कार्यमा गुणस्तरलाई वेवास्ता गर्दै ढलान भईरहेको छ । सडक ढलानमा लाखौं रुपैयाँ खर्च गरिरहेको सडक डिभिजन कार्यालयले सडकको मापदण्डको पनि ख्याल गरेको छैन् । माडरको बजार लाग्ने स्थानमा करिब ५० मीटर मुख्य सडकमै ढलान गरिरहेको छ ।

सडक ढलान गर्दा विद्युतको पोल ढलान सडकमै छ । विजुली, टेलिकमको पोललाई विच सडकमै पर्ने गरी सडकको ढलान गर्न सवैभन्दा वढी गुणस्तर खस्किएको प्राविधिकहरुले बताएका छन् । सिरहा नगरपालिकाका एक जना इन्जिनियरले सडक ढलान हेर्दा गुणस्तरमा गम्भीर खेलांची गरेको बताएका छन् । सडक ढलान पूर्व सडकको स्तरलाई सुदृढ बनाउने गरी कम्प्याक्सन गर्नुपर्ने भएपनि विद्युत र टेलिकमको पोलका कारणले त्यो पनि पूर्ण रुपमा नभएको स्थानीयवासीले बताएका छन् ।
विद्युतको पोल सडकको वीचमा हुँदा आवतजावत गर्ने सवारीसाधनलाई जोखिम थपिएको स्थानीयवासीको गुनासो रहेको छ । सडक क्षेत्रमै विद्युतको पोल र टेलिकमको पोल भएको र सरोकारवाला कार्यालयले त्यसैगरी ढलान गर्न लगाउँदा आफूहरुलाई जोखिम भएको माडर–सिरहा टेम्पु चालकहरुको गुनासो रहेको छ । सरोकारवाला कार्यालयहरुको लापरवाहीले जोखिम थपिएको उनीहरुले बताएका छन् ।
यस विषयमा सडक डिभिजन कार्यालय लहानका प्रमुखलाई फोन गर्दा फोन सम्र्पक हुन सकेन् ।



