सिरहा नगरपालिका–३ मखनाहाका डा नरेश मण्डल जनकपुरधाममा चिकित्सकीय पेशामा आबद्ध छन् । हुलाकी राजमार्ग भएर सिरहा–जनकपुरधाम गर्न आउजाउ गर्न सजिलो भएपनि वर्षात्को बेला अप्ठ्यारो र जोखिमको सामना गर्नु परेको सुनाउँछन् । वर्षात्ले कमला नदीमा पानीको बहाव उच्च भएपछि यात्रा गर्न सकिने अवस्था नहुने र भारतीय बजार जयनगर हुँदै ४५ किलोमीटरको यात्रा गरी जनकपुरधाम पुग्नेपर्ने बाध्यता सँग सामना गर्नुपरेको डा मण्डलको भनाई छ । अर्को बाटो पूर्वपश्चिम राजमार्ग भएर तीन गुना वढी अर्थात करिब ९० किलोमीटरको यात्रा गर्नुपर्ने बाध्यता रह्ने गरेको डा मण्डल सुनाउँछन् ।

सिरहाको प्रादेशिक अस्पतालमा डायलासिस विभागमा कार्यरत डायलासिस टेक्नोलोजिष्ट विवेक यादव जनकपुरधामको वकिल टोलबाट आउँछन् । विदाको समयमा ३० किलोमीटर दुरीमा रहेको घर जान आउन यादवलाई पनि सास्ती भोग्नु परेको छ ।
धनुषातर्फ पशुचौपाया चराउन जाने, धनुषाका विभिन्न गाउँमा उत्पादन भएको दूधको सिरहा बजारमा पुर्याउन आउनेलाई मात्र होईन काम विशेषले सिरहा–धनुषा गर्नेलाई जोखिमको सामना गर्नुपरेको छ ।

उनीहरु दुई जना प्रतिनिधिपात्र हुन् । सिरहा र धनुषाका हजारौं स्थानीयलाई यस्तो सास्तीको सामना गर्नुपर्छ । जसको मुख्य कारण कमला नदीमा विगत १४ वर्षदेखि पक्की पुल निर्माण अलपत्र पर्नु हो । २०६८ सालदेखि ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको पुल २०८२ आईपुग्दा पनि पूरा भएको छैन् । पप्पु कन्स्ट्रक्शन लुम्बीनि बिल्र्डसले पुल निर्माणको करिब २५ करोडमा सम्झौता गरेको थियो । सम्झौता अनुसार काम गर्न नसक्दा हुलाकी राजमार्गको कनेक्टिभिटि नै चुडिएको छ । हुलाकी राजमार्ग सदरमुकाम सिरहादेखि राजविराजसम्ममा ठूला नदीमा सवै स्थानमा पुल बनि सकेको छ । यसले राजविराज–सिरहाको दुरी ५८ किलोमीटरमा सिमित पारेको छ । सिरहादेखि जनकपुरधामको ३० किलोमीटरको दुरी कमला नदीमा पक्की पुल निर्माण नहुँदा ४५ देखि ९० किलोमीटरको जोखिमपूर्ण छ ।

विगत १४ वर्षदेखि निर्माणधीन रहेको कमला पुलका कारणले हजारौं नागरिकले अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेको छ । झन् २०७७ मा निर्माणधीन पुल भाँसियो ।
२०७७ असार १७ मा निर्माणधीन पुल भाँसियो । कमला नदीमा समान्य वाढीले पुलको पूर्वपट्टीको पाया भासिन पुग्यो । पुलको पाया भाँसिएसँगै स्ल्याब नै भूईमा ढल्यो । जसका कारणले यो पुल निर्माण अझैं ओझेलमा पर्यो । पुल भाँसिएको मंगलवार चार वर्ष पूरा भएको छ । सरकारी संयन्त्रणको उदासिनताले चार वर्षमा पनि पुलको कामले गति लिन सकेको छैन् । निर्माण कम्पनी लुम्बिनी बिल्र्डस्ले पुल भाँसिएपछि १२ करोडको विमा दावी गरी कामलाई नै अलपत्र पारेको छ । सरकारले पनि नागरिकले सास्ती पाईरहँदा त्यसप्रति संवेदनशील बन्न सकेको छैन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्प कमल दाहाल प्रचण्ड, डा बाबुराम भट्टराईदेखि विभागीय मन्त्रीदेखि दलका नेताहरुको भाँसिएको पुलको अवलोकन गर्ने क्रम लामै चल्यो । संघीय सांसददेखि प्रदेशका सांसदहरु भाँसिएको पुल हेर्न पुगे । तैपनि भाँसिएको चार वर्षमा पुल निर्माण पूरा हुन सकेन् ।

पुल निर्माण गर्न कमला पुल निर्माण संर्घष समितिले दबाबमूलक कार्यक्रमदेखि आमरन अनसन गर्न पुगेका थिए । सिरहा नगरपालिकामा कार्यरत इन्जिनियर प्रविण यादवको नेतृत्वमा अनसन गरेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंह र भौतिक पूर्वाधारमन्त्री सरोज यादवले पुल निर्माणको सम्झौता गर्यो । सम्झौता गरेको एक वर्ष भएपछि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
निर्माण कम्पनीले भाँसिएको पुलको पाया र स्ल्याब हटाएर नयाँ पाया निर्माण सुरु गरेपनि अहिले अलपत्र छ । फेरी पनि संघर्ष समितिलाई आन्दोलन गर्नुपर्ने बाध्यता आईपरेको छ । प्रदेश सरकारले आन्दोलनकारीसँग संघले पुल बनाउन बजेट विनियोजन नगरेपछि प्रदेशले गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसका विपरीत प्रदेशले १ करोड रुपैयाँ विनियोजन गरी आन्दोलन र हजारौं नागरिकको आस्थामाथि कुठाराघात गरेको छ ।

जसका कारणले विगत चार वर्षदेखि कमला पुल भाँसिएको अवस्थामा नै छ । नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । भाँसिएको कमला पुलमा कयौं मोटरसाईकयात्री घाईते भईसकेका छन् । तैपनि प्रदेश र संघ सरकारले चासो र गम्भीरता देखाउन सकेको छैन् । यसले दुवै सरकारको काम गराईको शैलीलाई प्रष्ट पारेको छ ।
अब पनि सरकारले भाँसिएको कमला पुलको पक्की पुल बनाउनु पर्छ । गुणस्तरयुक्त र ढिलाई नगरी पुल बनाउन संघ र प्रदेश सरकारले सक्रियता देखाउनु पर्छ । यो वर्षात् त यस क्षेत्रका नागरिकले अप्ठ्यारो अवस्थाबाट नै गुज्रिनुपर्ने बाध्यता छ । अर्को वर्षात् अवागै पुल निर्माणको सुनिश्चितता सरकारी गरिदिन आम नागरिकको माग हो । यो मागलाई राज्यले पूर्ण प्रतिवद्धताका साथ पूरा गर्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय