मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामका निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई किर्ते कागजात प्रकरणमा मुछिएपछि पदमुक्त गरिएको छ। असार १२ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई हटाएर वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. राजीव कुमार झालाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार डा. कुशवाहाले बोलपत्र रद्दसम्बन्धी ठेक्काको प्रक्रियामा विभिन्न कागजातहरू किर्ते गरी अदालतमा पेश गरेका थिए। ती कागजातहरूमा राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार, काठमाण्डौमा ठेक्का रद्दसम्बन्धी टिप्पणी भएको उल्लेख गरिएको भए तापनि अनुसन्धानका क्रममा ती विवरणहरूमा विभिन्न बुँदाहरू परिवर्तन गरिएको भेटिएको छ।

यसै विषयमा उजुरी २०८२ असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको थियो। सो उजुरीका आधारमा गठित तीन सदस्यीय छानबिन समितिले अनुसन्धान थालेको थियो। छानबिन समितिले माग गरेको कागजातहरूमा डा. कुशवाहाले सहकार्य नगरेको, छानबिन प्रक्रियामा अवरोध पुगेको तथा प्रमाणहरूमा हेरफेर गरी पेस गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ।

छानबिनको प्रभावकारी कार्यान्वयनका लागि उनलाई तत्काल सरुवा गर्दै प्रादेशिक अस्पताल, सिरहा खटाइएको छ। मन्त्रालय स्रोतका अनुसार जस कार्यालयको कागजातहरूमा किर्ते गरिएको हो, सोही कार्यालयमा बसिरहेमा थप छानबिनमा बाधा पुग्न सक्ने भएकाले उनलाई अन्यत्र खटाइएको हो।

यस घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको जनाएको छ। प्रारम्भिक जाँचबुझमा दोषी देखिएकाले थप अनुशासनात्मक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

नयाँ निर्देशकको जिम्मेवारी पाएका डा. राजीव कुमार झालाई मन्त्रालयले छिटो र पारदर्शी रूपमा स्वास्थ्य आपूर्ति व्यवस्थापनको कार्यहरू अघि बढाउन निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!