नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कर्णाली याक्सले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

क्लबले मंगलबार सार्वजनिक गरेको सूचीमा मार्की खेलाडी सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा र युनिशविक्रम सिंह ठकुरी छन् ।

यसअघि सोमबार कर्णालीले सोमपाललाई मार्की खेलाडीमा निरन्तरता दिने घोषणा गरेको थियो । उनी नेपालका लागि दुवै संस्करणको टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् । पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्स प्लेअफमा पुगेको थियो ।

क्लबका निर्देशक रमेश घिमिरेका अनुसार यस सिजन पनि चर्चित अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गरेर टिम बलियो बनाइनेछ। साथै, यस्ता प्रयासले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनी बताउँछन् ।

एनपिएलको नियमअनुसार हरेक टिमले मार्कीबाहेक ६ खेलाडी रिटेन गर्न पाउँछन् भने मार्की स्वतः रिटेन हुने व्यवस्था छ ।

चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सले पनि आ–आफ्ना रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन् । एनपिएल दोस्रो सिजनका लागि मिनी अक्सन आउँदो अगस्टमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय