सिरहा । सिरहा नगरपालिका वडा नं. ०१ मा फोहर व्यवस्थापनको अभावले स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ। लामो समयदेखि ठाँउठाउँमा थुप्रिएको फोहोरले वातावरण दुर्गन्धित मात्र बनाएको छैन, यसले स्थानीयमा विभिन्न स्वास्थ्य समस्याहरू समेत निम्त्याएको छ।
वडाको विभिन्न स्थानमा वर्षौंदेखि नियमितरूपमा फोहोर संकलन र व्यवस्थापन नहुनु मुख्य समस्या बनेको स्थानीयको गुनासो छ। स्थानीय बासिन्दाहरूका अनुसार फोहोर कुहिँदा उत्पन्न हुने ग्यासहरूले वायुमण्डल प्रदूषित भएको छ र यसबाट श्वासप्रश्वास सम्बन्धी समस्या, टाउको दुख्ने, आँखा पोल्ने जस्ता असर देखिन थालेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भएको जनाइएको छ।

तराई क्षेत्रमा गर्मी चर्किँदै जाँदा फोहोरबाट निस्कने दुर्गन्ध र हानिकारक ग्यासको असर झनै बढ्ने गर्दछ। स्थानीय बासिन्दाहरूले पटक–पटक वडा कार्यालय र नगरपालिकालाई फोहर व्यवस्थापनका लागि अनुरोध गर्दा पनि कुनै ठोस पहल नहुनुप्रति उनीहरू आक्रोशित छन्।
“हामीले वडाध्यक्षदेखि नगरप्रमुखसम्म गुहार गर्यौं तर अहिलेसम्म कुनै समाधान भएको छैन,” एक स्थानीयवासीले भने, “अब त बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि हामी अझै चिन्तित भएका छौं।”
फोहोर व्यवस्थापनमा देखिएको उदासीनता र बेवास्ता स्थानीय सरकारको गम्भीर कमजोरीको उदाहरण भएको भन्दै नागरिक समाज, युवा अभियन्ताहरु र सरोकारवालाहरूले तत्काल ध्यान दिन आग्रह गरेका छन्।
स्थानीय सरकारद्वारा तत्काल प्रभावकारी फोहोर संकलन र व्यवस्थापन योजना कार्यान्वयन नगरेसम्म जनस्वास्थ्यमा थप संकट आउन सक्ने चेतावनी स्थानिय बुद्धिजीवीहरुले बताएका छन्।



