सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति गर्ने प्रकृयामा आर्थिक अनियमितता भएको खुलासा भएको छ ।
नवराजपुर गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो । आर्थिक लेनदेनका आधारमा परीक्षाको अघिल्लो रातमा नै प्रश्न पत्र ‘आउट’ गरिएको प्रमाणहरू सार्वजनिक भएको छ ।
नवराजपुर गाउँपालिका–४ मा रहेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो । शिक्षक बन्ने अपेक्षा सहित १ सय ५१ जनाले आवेदन दर्ता गराएका थिए । तर, नियुक्ति प्रक्रियामा राजनीतिक र आर्थिक प्रभाव पार्दै शिक्षा विकास तथा समन्वय इकाई समेतको मिलेमतोमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा समितिबाट सिफारिस गराइएको प्रमाण सार्वजनिक भएको हो ।

कानुनतः विद्यालयले अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन गर्नुपर्नेमा सो प्रक्रिया मिचेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट व्यक्तिहरूलाई अस्थायी समितिमा मनोनीत गरेका थिए । यो समितिमा यादव निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादव अस्थायी समिति सदस्य बनेका थिए । शिक्षक नियुक्तिमा भएको आर्थिक लेनदेन पुष्टि गर्ने अडियो रेकर्डहरू समेत सार्वजनिक भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जीवछ यादवबिच भएको फोन संवादमा उठेको रकमबारे कुराकानी भएको छ ।
संवादमा घुरन यादवले ‘जसको पैसा लिएको छु, उसको नाम नै निस्केन । उठाएको एक पैसा पनि मुखियाज्यू (पालिका अध्यक्ष) कहाँ गएको छैन,’ भन्दै प्रभात ठाकुरको ५ लाख मात्र अध्यक्षकहाँ पुगेको र बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिएको बताएका छन् । यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले एक उम्मेदवारसँग ८ लाख रुपैयाँ माग गरेको र पछि ‘भोज खर्चका लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनी चेक लिएको तर नियुक्ति नभएको पीडितको गुनासो छ ।
अनियमितताको सिलसिला यतिमै सीमित छैन । परीक्षाको एक दिनअघि राति १ बजेर १३ मिनेटमा बरियारपट्टी गाउँपालिका–१ स्थित आधारभूत विद्यालयका प्रधानाध्यापक रामसुफल यादवको मोबाइल नम्बरबाट आवेदकहरूको मोबाइलमा प्रश्न पत्र र त्यसको उत्तर समेत पठाइएको पाइएको छ ।
यस सम्बन्धमा जनता नमूना माविका प्रधानाध्यापक मुरारी शर्माले प्रश्न पत्र बाहिरिएको र रकम असुलेको आरोपलाई ‘अफवाह’ भन्दै आफूलाई जानकारी नभएको र प्रमाणहरू ‘इडिटिङ’ गरिएको हुन सक्ने दाबी गरेका छन् । गाउँपालिका अध्यक्ष शिव उदगार यादवले पनि अनियमितताको आरोप निराधार भएको र विपक्षीले भ्रम फैलाउन खोजेको दावी गरेका छन् । प्रश्न पत्र बाहिर पठाएको आरोप लागेका प्रधानाध्यापक रामसुफल यादवले भने ‘भेटेर यो विषयलाई सल्टयाउनुपर्छ, भेट्नुस्’ भन्दै स्पष्ट जवाफ दिन चाहेनन् ।
स्थानीय बुद्धिजीवी नविन कुमार यादवले शिक्षक नियुक्तिमै यस्तो भ्रष्टाचार हुनुले समग्र शिक्षा क्षेत्रमा नकारात्मक असर पार्ने र विद्यालयहरू शिक्षाको केन्द्र नभई भ्रष्टाचार र धन आर्जनको माध्यम बनेको बताएका छन् । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियामक निकायले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।




