विराटनगर : यात्रुबहाक बसले ठक्कर दिएर दुर्घटना हुँदा सोमबार दिउँसो मोरङको रंगेलीमा एकजना बालिकाको मृत्यु भएको छ। दुर्घटनालगत्तै बसमा तोडफोड गरिएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ निचामारी चोकमा दिउँसो २:२० बजेतिर दुर्घटना भएको हो। कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले ठक्कर दिँदा रंगेली–७ की १३ वर्षीया मीरा मण्डलको मृत्यु भएको जोशीले बताए।

बसको ठक्करबाट मण्डल गम्भीर घाइते भएकी थिइन्। तत्कालै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि रंगेली अस्पताल लग्यो। अस्पताल पुर्याउनसाथ दिउँसो २:४० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए।
बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। इन्स्पेक्टर बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको हो। बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका छन्। तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ। प्रहरीका अनुसार जम्मा भएको आक्रोसित भिड एक्कासि ढुंगामुढा र तोडफोडमा उत्रिएको थियो।
तोडफोड हुन थालेपछि चालकले यात्रुसहितको बसलाई भगाएर इलाका प्रहरी कार्यालय रंगेली पुर्याएका थिए। तोडफोड हुँदा बसभित्र १०–१५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा ढुंगामुढा र तोडफोड भए पनि कसैलाई चोटपटक भने लागेन।




