सिरहा । सिरहाको गोलबजारमा अवस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको अकालमै ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी अन्दाजी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान ज्यान गएको हो।

रामकाशीलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए। अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। यसअघि दुई छोरीकी आमा रहेकी उनी छोराको जन्म दिएकी थिइन्।

तर, शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले रामकाशीलाई बाहिर लान खोजेका थिए। रिफर गरिदिन पटक–पटक आग्रह गर्दा पनि ‘यतै ठीक भइहाल्छ’ भनेर अल्झाएर राखेको अस्पतालले शनिबार बिहान २ बजेतिर मात्र यहाँबाट रिफर गरेको थियो।

तर, गोलबजारबाट विराटनगर लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो। शनिबार बिहान साढे ५ बजेतिर विराटनगरस्थित न्युरो अस्पतालले उनलाई मृत घोषणा गरेको मृतकका श्रीमान् सन्त यादवले बताए।

‘हामी बिहान २ बजे यहाँबाट हिँडेका थियौं, बिहान ५ बजे विराटनगर पुगेका थियौं,’ सन्तले भने, ‘तर, त्यहाँका चिकित्सकले अस्पताल पुग्नुअघि नै बिरामीको ज्यान गइसकेको बताए।’

बर्धमान अस्पतालले आफ्नी श्रीमतीलाई अन्तिम अवस्थामा पुर्‍याएर रिफर गरेको र यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उनको भनाइ छ। उनले शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको बताए।

‘अपरेसन गर्दा धेरै रगत गयो, अस्पतालले हामीलाई रगत ल्याउन भन्यो, ल्याएर दियौँ,’ उनी सुनाउँछन्, ‘तर, उपचार र बिरामीको अवस्था देखेर हामी सन्तुष्ट थिएनौँ। रिफरका लागि पटक–पटक आग्रह गर्दा पनि अल्झाएर राखियो। मेरो श्रीमतीको ज्यान जानुमा अस्पताल दोषी छ।’

बच्चाको अवस्था भने सामान्य रहेको उनले बताए।

अस्पतालकै लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउँदै परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका छन्। पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका शल्यक्रिया गर्ने डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ।

सञ्चालक यादवलाई कार्यालयमा ल्याएर सोधपुछ गर्ने काम र घटनाको अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहले जानकारी दिए।

यस विषयमा अस्पताल सञ्चालक यादवको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

सभार: कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!