काठमाडौं : काठमाडौंको तिनकुनेस्थित मुनिभैरब मन्दिर अगाडि बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिएको छ। आज बिहान कोटेश्वरबाट बानेश्चरतिर आइरहेको बा३ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेका बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार ललितपुरको धोबीघाट बस्ने २३ वर्षीय नगिना तामाङको उपचार क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगरको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यस्तै भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशङ्करकी २४ वर्षीय मेनुका बुढाथोकीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वर–तीनकुने सडकको मुनीभैरव मन्दिर अगाडिको ट्राफिक लाइट रातो बत्तीमा रोकिएका दुई सवारी साधनलाई कोटेश्वर तर्फबाट तीव्र गतिमा आउँदै गरेको बसले ठक्कर दिएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




