सिरहा । जिल्लाको सदरमुकाम सिरहा यतिखेर असुरक्षित बन्दै गएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल डिभिजन नम्बर ७, वडा प्रहरी कार्यालय र जिल्ला अदालतको सुरक्षामा दिनरात प्रहरीको डियूटी रहेको सदरमुकाम हो ।
सदरमुकाम सिरहाको मुख्य बजारकै पसलहरुमा श्रृखलाबद्ध रुपमा चोरी र लुटपाटका घटना वढ्न थालेको छ । 
जिल्ला प्रहरी कार्यालय अगाडीवाट शुक्रवार राती मानेश्वर कामतीको स ६ प ३८५९ नम्बरको मोटरसाईकल चोरी भएको छ । त्यसपछि मुख्य सडकसँगै सिरहा नगरपालिका १ इमली चौक (पिपल चौक) मा रहेको ममता स्टुडियोमा क्यामेरा, ल्यापटप, पेनड्राईभ चोरी भएको छ । गत शनिवार सिरहाको हटियामा एक जनाको सुनको सिक्रि लुटेर फरार भएको छ । 
लुटेराले हटियामा भीडको आडमा शिवम होटलका संचालक होम बहादुरको दुई तोलाको सिक्रि लुटेर लगेको    छ । 
यता चोरहरुको समूहले सोमवार राती सिरहा नगरपालिका १ ईमली चौकमै रहेको माँ दुर्गा ज्वेलर्समा चोरीको असफल प्रयास गरेका थिए । उक्त समूहले ज्वेलर्सको ताला आधा भन्दा वढी काटिसकेको थियो । 
मुख्य सडकमै रहेको दुई वटा पसलमध्ये एकबाट चोरी गर्न सफल भएको छ भने अर्को एकमा चोरीको प्रयास असफल भएको छ । त्यससँगै हटियाबाट सुनको सिक्रि लुटेर फरार भएको छ ।
जिल्ला सदरमुकाम सिरहामा चोरी र लुटपाटका घटना वढेसँगै व्यवसायीहरु सुरक्षामाथि प्रश्न उठाउन थालेका छन् । सदरमुकामकै मुख्य सडकका पसलहरुको ताल्चा तोडेर चोरी गर्दा पनि प्रहरीेले अपराध कर्ममा रहेकालाई पक्राउ गर्न नसक्दा दिनरात सडकमा सुरक्षार्थ रहेका प्रहरीमाथि नै प्रश्न उठेको छ । चारैतिर प्रहरीको पहरा भएपनि चोरी र लुटपाट हुनु सुरक्षा व्यवस्था फितलो भएको स्थानीयहरुको भनाई छ । 
सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दारले घटना दुःखद भएको बताए । सानो बजारमा यसरी चोरी हुनु शान्ति सुरक्षाको अवस्था कमजोर भएको जस्तो देखिन्छ,’ अध्यक्ष पोद्दारले भने,‘चोरीका घटना र सदरमुकामको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी प्रमुखसँग वुधवार छलफल गर्ने तय भएको छ ।’
प्रहरीको साईकल, मोटरसाईकल र भ्यानले पनि गस्ती गरेपनि सदरमुकामको मुख्य बजारमा रहेको पसलहरुमा चोरी गर्नु सुरक्षा कमजोरी भएको युवा नेता अरविन्द यादवको भनाई छ । ‘सदरमुकाम असुरक्षित भएको छ,’ यादवले भने, ‘यस घटनाहरुले जिल्लामा शान्ति सुरक्षा कस्तो छ भन्ने प्रष्ट पारेको छ । प्रहरीको सक्रियता वढाएर शान्ति सुरक्षा कायम राख्न जोड दिनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका डिएसपी सुभाष बुढाथोकीले चोरीको घटनाहरुमा वृद्धि भएको बताएका छन् । चोरीका घटनाहरुलाई न्यूनिकरण गर्न बैंक, सुनचाँदी पसलहरुमा विशेष ध्यान दिई गस्ती टोली परिचालनमा जोड दिएको डिएसपी बुढाथोकीले बताएका छन् ।.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!