नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री महेन्द्रराय यादवले पहलगाममा भएको आतंकवादी हमलापछि दक्षिण एसियाली सहयोग संगठन (सार्क)को औचित्य माथि प्रश्न उठेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा पूर्वमन्त्री यादवले अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको औचित्यबारे नेपाल सरकारले निर्णय गर्नुपर्ने बताएका हुन् ।

सार्क सम्मेलन हुन नसक्दा नेपाल अहिले पनि अध्यक्ष राष्ट्रको रूपमा छ ।
‘भारतमा आतंकवादी हमलाका कारण सीमावर्ती क्षेत्रमा ठूलो प्रभाव परिरहन्छ । अब नेपालले सार्कको अध्यक्षको हैसियतले नेपाल सरकारले अब सार्कको औचित्यको, आवश्यकता छ/छैन भनेर पुष्टि गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ पूर्वमन्त्री यादवले भने ।
पहलगाममा भएको आतंकवादी हमलामा नेपाली युवाको हत्या भएको र भारतमा आतंकवादी हमला भए पनि नेपालको सीमा क्षेत्रमा समेत प्रभाव पर्ने उनले बताए ।
‘पहलगाम हमलाको जिम्मा विद्रोही समूह टीआरएफले लिएको छ । पाकिस्तानका जनरलले गरेको अभिव्यक्तिले गर्दा सद्भावमा असर परिरहेको बुझिन्छ । सरकार शान्ति सुरक्षाको मामिलामा सचेत हुनुपर्छ,’ उनले भने ।
मंगलबार नै कांग्रेस सांसद राजेन्द्र बजगाईंले लश्कर–ए–तैयवाको शाखाको रूपमा रहेको टीआरएफलाई आतंकवादीको सूचीमा राख्नुपर्ने बताएका थिए ।




