सिरहा । सिरहामा लागुऔषधको प्रयोग र कारोबारले भयावह रुप लिँदै गएकोमा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । आइतबार मिर्चैयामा जिल्ला प्रशासन कार्यालय, सिरहाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यसप्रति चिन्ता व्यक्त गरेका हुन् ।

खासगरी मधेशका गाउँ-गाउँमा लागुऔषधको प्रयोगकर्ता र यसको कारोबार बढेको र यसले समाजलाई नै झन् पछाडि लगिरहेको उनीहरूले बताएका छन् । मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवले अहिले लागुऔषध समाज र देशका लागि प्रमुख चिन्ताको विषय बनेको बताए ।

‘लागुऔषधले समाजलाई झन् पछाडि फर्काइरहेको छ, गाउँ-गाउँमा प्रयोगकर्ता र यसको कारोबार फस्टाएको छ, यो अहिले प्रमुख चिन्ताको विषय हो,’ उनले भने, ‘यसको नियन्त्रणमा राज्य र राज्यका संयन्त्र चुकिरहेको जस्तो लाग्छ ।’

सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले लागुऔषध दुर्व्यसनको बढ्दो समस्याले राष्ट्रिय सुरक्षादेखि सामाजिक संरचनासम्म गम्भीर असर पारिरहेको बताए । ‘लागुऔषध आज हाम्रो मुलुकका लागि मात्र होइन, सम्पूर्ण समाजका लागि एउटा गम्भीर चुनौती बन्दै गएको छ,’ उनले भने, ‘यसको नियन्त्रण प्रयास वडास्तरसम्म पुर्‍याउन नसकेसम्म प्रभावकारी परिणाम आउन सक्दैन ।’

लागूऔषध दुर्व्यसनले परिवार विघटन, युवा शक्ति नष्ट र आपराधिक गतिविधिमा वृद्धिको अवस्था सिर्जना गरिरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माको भनाइ छ । ‘लागूऔषध कारोबार र दुर्व्यसनलाई नियन्त्रण गर्न प्रहरीको तर्फबाट निरन्तर अपरेसनहरू चलाइएका छन्,’ उनले भने, ‘तर, यसमा समाजकै जागरण आवश्यक छ ।’

यसैगरी, कार्यक्रममा स्थानीय तहबाट प्रवाह हुने सेवालाई अझै चुस्त र दुरुस्त बनाउने विषयमा पनि छलफल भएको छ । सरकारी निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने र यसले सेवा प्रवाह सुधारमा ल्याउने निष्कर्ष अन्तरक्रियाले निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!