
सिरहा । सिरहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा मोहम्मद इदरिस राईनले सोमबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सिरहा नगरपालिकाको सिफारिसमा उनलाई वैशाख ४ गतेदेखि नियुक्त गरिएको हो।
नगर प्रमुख डा. नवीन कुमार यादवले एक विशेष कार्यक्रममा राईनलाई चादर ओढाएर, डायरी र कलम प्रदान गर्दै स्वागत गरे। कार्यक्रममा नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत राईनलाई कानुनसम्मत ढंगले जनताको सेवा गर्न निर्देशन दिएका थिए।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राईनले स्वागतप्रति आभार व्यक्त गर्दै कामको सुरुवात केही फरक शैलीमा गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको हितमा समर्पित भएर काम गर्छु, सबैको साथको अपेक्षा गरेको छु,” उनले भने। साथै, जनमैत्री सेवा प्रवाह र दक्ष कार्यशैलीका माध्यमबाट निर्वाचित जनप्रतिनिधिको लक्ष्य पुरा गर्न कर्मचारीहरूको सक्रिय सहभागिता अपरिहार्य हुने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारीप्रति सजग रहन आग्रह गरे।
यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । जसले गर्दा कार्यालयको दैनिक कामकाज प्रभावित भएको थियो ।