
आर्थिक अधिकार रोकिदा योजना र भुक्तानी ठप्प, सेवा प्रभावित
सिरहा । सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विभिन्न सेवा प्रभावित भईरहेको छ । विगत चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नतोकिएपछि सिरहा नगरपालिकाका नागरिकले पाउने सेवा सुविधा ठप्प भएको हो । जेष्ठ नागरिक, एकल महिला, सामाजिक सुरक्षा एवं पाँच वर्ष मुनीका बालबालिकाले पाउँदै आएको बालपोषणको रकम पाउनबाट बञ्चित भईरहेका छन् ।
सिरहा नगरपालिको तर्जुमा गरेको चालू आर्थिक वर्षको योजना सञ्चालनमा पनि अवरोध पुगेको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नतोकिएपछि नगरपालिकाको आर्थिक प्रशासन नै ठप्प भएको छ । जसले गर्दा चालू आर्थिक वर्षमा गर्नुपर्ने कामहरुलाई पूर्ण रुपले प्रभावित बनेको सिरहा नगरपालिकाले जनाएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको पदस्थापनाको प्रतिक्षामा रहेको सिरहा नगरपालिकाको कर्मचारीहरुले बाध्य भएर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई घचघचाउन बाध्य भएको छ । कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र पठाएको छ । सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रिक्त पदमा स्रिघ पदस्थापनाको माग गर्दै कर्मचारीहरुले ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारीहरुले तलबभक्ता नपाउँदा उनीहरुको दैनिक जीवन नै प्रभावित भएको, चालू आर्थिक वर्षको तीन महिना मात्र बाँकी रहँदा योजना अनुसारको कामहरु हुन नसकेको कर्मचारीहरुले साझा रुपमा बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संघीय मामिला मन्त्रालयले देशभर रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी खोसेपछि सिरहा नगरपालिकाको सेवा अबरुद्ध भएको हो । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई नै जिम्मेवारी तोकिनुपर्ने भएकोले पनि सिरहा नगरपालिकासँगै धेरै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयले समस्या सृजना भईरहेको स्थानीय निकायका जानकारहरु बताउँछन् । यस अघि शाखा अधिकृत बलिराम यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको थियो । मन्त्रालयको नयाँ परिपत्रपछि प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई काम गर्न रोक लाग्यो । नगरपालिकामै रहेपनि उनी नयाँ परिपत्र वा जिम्मेवारीको निम्ति पर्खाईमा रहेको सिरहा नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । तत्काल प्रमुख प्रशासकीय अधिकृतको विषयलाई टुंगोमा पुर्याउन मन्त्रालयसँग पहल गरिरहेको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले बताएका छन् । मन्त्रालयले उपसचिव तहकै कर्मचारीलाई पठाएर सेवा सुचारु गर्न समन्वय गरिदिनुपर्ने वा अहिलेका अधिकृतलाई नै पदस्थापना गरी काम गर्न अधिकार दिनुपर्ने कुरा मन्त्रालयमा आफूले राखेको मेयर डा यादवले बताएका छन् ।
ज्ञापन पत्र