काठमाडौँ : इसरायलले गाजामा भीषण आक्रमण गरेको छ । इसरायली आक्रमणबाट गाजामा एकैदिन ४०० जनाको मृत्यु भएको अलजजीराले जनाएको छ । समाचारअनुसार यो गाजामा युद्धविराम शुरू भएयताकै ठूलो आक्रमण हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था​ रोयटर्सका अनुसार इसरायलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको हो । प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन् । ‘त्यो नर्कको रात थियो। युद्धको पहिलो दिन जस्तै महसुस भयो,’ गाजाकी ६५ वर्षीया रबिहा जमालले रोयटर्ससँग भनेकी छन् ।

इसरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् । उनले गाजाका नागरिकहरूलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन् । ‘इसरायलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ,’ नेतन्याहूले भने । हमासले इसरायली प्रहारको महुसस गरिसकेको पनि नेतन्याहूले बताएका छन् । ‘यो त केबल सुरूवात मात्रै हो,’ उनले भने ।

इसरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम हुनेगरी गाजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो । ४२ दिनपछि मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन सकेका छैनन् । गाजा युद्धविरामलाई अगाडि बढाउने सहमतिमा पुग्न वार्ता असफल भएको छ।

इजरायलले पहिलो चरणो युद्धविराम लम्ब्याउन आग्रह गरेको थियो । तर, हमासले भने दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावलाई नकारिदिएको थियो ।

त्यसपछि इसरायलल गाजामा स-साना आक्रमण गर्दै आएको थियो । उसले गाजामा मानवीय सहायताका सामग्रीहरू बोकेर गएका ट्रकहरूलाई सिमानामै रोकिदिएको थियो ।

मंगलबारको आक्रमणले भने गाजामा पुन इसरायलले आक्रमण शुरू गरेको आकलन गरिएको छ। यसले हमासको कब्जामा रहेका बन्धकहरूको आफन्तहरूमा ठूलो त्रास सिर्जन गरेको छ।

रोयटर्सका अनुसार हमासले २०२३ को अक्टोबरमा बन्धक बनाएर गाजा पुर्‍याएको २४९ जनामध्ये अझै ५९ जना हमासकै कब्जामा छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा इजरायली हवाई आक्रमणबाट आफू आक्रोशित भएको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा हालसम्म कम्तिमा ४८ हजार ५७७ प्यालेस्टिनीहरूको मृत्यु भएको पुष्टि गरेको छ । गाजाको सरकारी मिडिया कार्यालयले मृत्युको संख्या ६१ हजार ७०० भन्दा बढी पुगेको दाबी गरेका छन् । भग्नावशेषमुनि हराइरहेका हजारौं प्यालेस्टिनीहरू मरेको अनुमान गरिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!