सिरहा । सुर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस, सिरहामा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिजन यादवको नेतृत्वमा पूर्ण प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ।

अनेरास्ववियुको प्यानलमा सभापतिका उम्मेदवार सिजन यादव, सचिवमा नरेश कुमार यादव, कोषाध्यक्षमा राजु महरा, र सदस्य पदमा अब्दुल मल्लिक, मो अफताब अकरम, अकलेश कुमार ठाकुर, सरस्वती कुमारी साह, सुनिल साह, गुन्जेश्वर प्रसाद साह, र उर्मिला कुमारी दास रहेका छन्।

 

गुणस्तरीय शिक्षा र विद्यार्थी हकहित प्राथमिकतामा

स्ववियु निर्वाचनलाई केन्द्रमा राख्दै अनेरास्ववियुले गुणस्तरीय शिक्षा, पारदर्शिता, र विद्यार्थीहरूको हकअधिकार संरक्षणलाई मुख्य एजेन्डा बनाएको जनाएको छ। प्यानलका सभापति उम्मेदवार सिजन यादवले विद्यार्थीहरूको समस्या समाधान तथा शिक्षाको स्तर वृद्धिका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले शिक्षा सुधार, छात्रवृत्ति र समावेशी अवसर जस्ता विषयमा प्रभावकारी नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे।

विद्यार्थीहरूको समर्थन अपेक्षा

अनेरास्ववियुले आफ्नो नेतृत्वमा विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक सुधारका कार्यहरू अघि बढाउने लक्ष्य लिएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न विद्यार्थी संगठनहरू प्रचारप्रसारमा सक्रिय भइरहेका छन्।

अनेरास्ववियुले सम्पूर्ण विद्यार्थी समुदायलाई चैत ५ गतेको निर्वाचनमा सहभागी भई आफ्नो प्यानललाई अत्यधिक मतले विजयी गराउन अपिल गरेको छ।

९ बुँदे प्रतिबद्धता
१. गुणस्तरीय शिक्षा, विद्यार्थी अधिकार र सुधारका लागि कार्यान्वयनयोग्य नीति अपनाउने।
२. विद्यार्थीहरूको लागि सुरक्षित, सुलभ र सस्तो यातायात सेवाको व्यवस्था गर्ने।
३. शैक्षिक संस्थामा पारदर्शिता, सुशासन तथा भ्रष्टाचार नियन्त्रण सुनिश्चित गर्ने।
४. आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा आर्थिक सहायता उपलब्ध गराउने।
५. शैक्षिक संस्थाभित्र हुने अन्याय, दमन र भेदभाव अन्त्य गर्न प्रभावकारी कदम उठाउने।
६. विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि प्राथमिक उपचार, स्वास्थ्य जाँच तथा मानसिक स्वास्थ्य परामर्शको सुविधा विस्तार गर्ने।
७. जाति, वर्ग, लिंग तथा समुदायका आधारमा समान अवसर सुनिश्चित गर्दै समावेशी शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्ने।
८. क्याम्पसमा गुणस्तरीय छात्रावासको व्यवस्था गरी विद्यार्थीहरूको बसोबासलाई व्यवस्थित बनाउने।
९. छात्र-छात्राहरूका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्दै स्वच्छ वातावरण कायम गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!