काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत  पुगेका छन्। लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका हुन्।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएको उनको सचिवालयले जनाएको छ।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले बोल्ने समय आएपछि आफूले बोल्ने बताए। लामिछानेले अहिले आफू प्रतिक्षा गर्ने लाइनमा भएकाले विशेष सम्बोधनसहित जिज्ञासाको जवाफ दिने बताए।

सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण छुट्टाछुट्टै मुद्दामा ४२ जनालाई प्रतिवादी बनाइएको छ । यी प्रतिवादीहरूबाट कूल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ माग दाबी गरिएको थियो।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय