
सिरहा, ९ फागुन । जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालत सिरहाले २५ वर्ष कैद सजाय जरिवाना तोकिएर फरार रहेका प्रतिवादी सिरहा नगरपालिका–४ रमौलका ४५ वर्षीय मो. शेख अन्जुमलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको टोलीले उनलाई सिरहा नगरपालिका–४ रमौलमा आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश कुमार यादवले जानकारी दिए ।
पक्राउ परेका अन्जुमलाई प्रहरीले बिहीबार नै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीको लागि जिल्ला कारागार चलान गरिएको छ । उनी २०७७ चैत १० गते ज्यान सम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।
