सिरहा । भारतको ओडिशा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्खा स्पर्धक मृत्युप्रति मातृभूमि युवा समाज नेपालले गहिरो दुःख व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण गरेको छ। संस्थाले एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

विद्यार्थीमाथि असंवेदनशील व्यवहारप्रति विरोध

प्रेस विज्ञप्तिमा मातृभूमि युवा समाज नेपालले नेपाली विद्यार्थीहरूप्रति भारतीय कलेज प्रशासन तथा स्थानीय अधिकारीहरूले असंवेदनशील र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। नेपालबाट उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीहरूको सुरक्षामा गम्भीर लापरबाही भएको भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ। शिक्षाका लागि विदेशी भूमिमा गएका विद्यार्थीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउने सम्बन्धित निकायहरूको जिम्मेवारी भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारलाई छानबिन तथा कूटनीतिक पहल गर्न आग्रह

घटनाका सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारका सम्बन्धित निकायहरू – परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय, भारतस्थित नेपाली दूतावास तथा नेपालस्थित भारतीय दूतावासलाई तत्काल पहल गर्न आग्रह गरिएको छ। मृतक विद्यार्थीका परिवारलाई न्याय दिलाउन तथा दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारले भारत सरकारसँग समन्वय गरी आवश्यक कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष मनिष कुमार यादवको माग रहेको छ।

सुरक्षा प्रवन्ध मजबुत बनाउन जोड

अध्यक्ष यादवले नेपाल सरकारलाई भारतमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिन विशेष रणनीति बनाउन पनि आग्रह गरेको छ। भविष्यमा यस्ता दुखद घटना दोहोरिन नदिनका लागि उच्चस्तरीय सुरक्षा प्रवन्ध अपनाइनुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।

मातृभूमि युवा समाज नेपालको अध्यक्ष मनिष कुमार यादवले सम्पूर्ण विद्यार्थी, अभिभावक, सरकारी निकाय, तथा मानव अधिकारवादी संस्थाहरूसँग एकजुट भई यस्तो घटनाविरुद्ध आवाज उठाउन आग्रह गर्दै नेपाल सरकारलाई यसबारे प्रभावकारी कूटनीतिक पहल गर्न पुनः जोडदार माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय