
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका नानी भन्ने ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको हो।
उनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको आरोप छ। त्यही बेला सिडिओ नेत्रप्रसाद शर्मालाई धम्की दिएको पाइएको डिएसपी रावलले बताए।
ताप्लेजुङमा पाथीभरा केबलकार निर्माण गर्ने विषयलाई लिएर विरोध हुँदै आएको छ। त्यहीक्रममा गत शनिबार सुरक्षाकर्मी र स्थानीयहरूबीच झडप भएको थियो।
यही विषयमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङसहित जिल्लाका सांसदहरूलाई छलफलका लागि मंगलबार अपराह्न ५ बजे मन्त्रालयमा बोलाएका छन्।