
कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७१ लाख मात्र राजस्व संकलन गरेको छ ।
नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ’, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने ।

यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।
गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ ।
भदौमा १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा ६ लाख राजस्व संकलन भएको छ । लक्ष्यभन्दा सात लाख कम राजस्व संकलन भएको छ । असोजमा १३ लाख २६ हजार संकलन गर्ने लक्ष्य लिएकामा सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा ६ लाख कम हो ।
कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर, पनि लक्ष्यभन्दा तीन लाख कम राजस्व संकलन भएको छ । मंसिरमा १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा चार लाख ७६ कम राजस्व संकलन भएको छ ।
पुसमा १३ लाखको लक्ष्य लिएकामा ३० लाख संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा १७ लाख बढी राजस्व संकलन भएको निमित्त प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित्त प्रमुख रजौरेले बताए ।
कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय र मोटरसाइकलबाट प्रतिदिन दुई सय लिने गरेको उनले बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।