
जनकपुरधाम/सिरहा : प्रदेशसभाको मंगलबार बसेको बैठकमा विशेष समय मागेर बोल्न गएकी मधेस प्रदेशसभाकी सांसद सहिदा खातुन फ्लोरमा बोल्दाबोल्दै रोइन्। सिरहा जिल्लाबाट जसपा नेपालको तर्फबाट समानुपातिक सांसद रहेकी खातुनले आफू अन्याय र हिंसामा परे पनि प्रदेश सरकार र प्रशासनले कुनै सहयोग नगरेको गुनासो पोखिन्। ‘मेरो र मेरो परिवारको ज्यान नै असुरक्षित छ। म भर्खरमात्रै अस्पतालबाट फर्केर सदन आएकी हुँ। तर, मेरो सुरक्षाका निम्ति प्रदेश सरकारलाई कुनै मतलव छैन, सभामुखले कुनै खोजखबरसमेत लिएका छैनन्। स्थानीय प्रशासनले मेरो फोनसमेत उठाउँदैन के यही हो कानुनी राज्य’, सांसद खातुनले रुँदै सदनमा आक्रोश पोखेकी थिइन्। शिक्षा सुधारका लागि पहल गर्दा आफू गाउँलेहरूको निसानामा परेको सांसद खातुनले सदनमा जानकारी गराएकी हुन्।
खातुनका अनुसार पुस ८ गते सिरहा गोलबजार नगरपालिका १३ दुर्गापुरमा आफ्नो घरमा बसिरहेको बेला उनको परिवारमाथि नै गाउँको एक पक्षबाट सांघातिक हमला गरियो। जसमा उनीसहित उनको पूरा परिवारै घाइते हुन पुग्यो। तर, यस्तो घटना हुँदासमेत प्रहरी प्रशासन र प्रदेशसभाले कुनै चासो नदेखाएको उनको आरोप थियो। खातुनले सदनमा उठाएको यस विषयलाई लिएर बुधबार जसपाका सांसदहरू र सदनमा प्रतिनिधित्व गर्ने केही महिला सांसदहरूले उनलाई न्याय दिलाउन माग गर्दै केहीबेर सदनको कारबाहीमा अवरोधसमेत गरेका थिए। तर, सदनमै रोइलो गर्न पुगेकी सांसद खातुनले गाउँमा भएको असली विवाद र उनीसँग भएको झैंझगडामा आफ्नो पनि संलग्नता रहेको कुरा कहीँ कतै खुलाइनन्। घटनाका विषयमा थप बुझ्दै जाँदा गाउँको झगडालाई पहुँचकै आधारमा सदनमा पु¥याइएको तथ्य बाहिरिएको छ।

विवाद १
असोज २७ गते गोलबजार नगरपालिका–१३ दुर्गापुरका २१ वर्षीय कृष्णकुमार महरा साथीसँगै गाउँनजिकै रहेको सुखीपुर नगरपालिका–१० शिवचौकमा दुर्गापूजा अवसरमा लागेको मेला हेर्न पुगेका थिए। उनी मेलामा पुग्दा अन्य साथीहरूसँग भेटे। कृष्णले आफ्नो चिनेको केटी साथीलाई फोन गरेर भेट्न बोलाए। उनका अन्य केटा साथीहरूले पनि ती केटीलाई भेट्ने प्रस्ताव राखे। तर, कृष्णले नमान्दा लागूऔषध सेवन गरेकाहरूले कृष्णलाई यातना दिएर हत्या नै गरिदिएको प्रहरीले जनाएको छ। त्यसमा घटनाका ६ आरोपितहरू ज्यान मुद्दामा थुनामा छन्।
त्यही घटनामा मोहम्मद कासिमको पनि नाम रहेको र आफूले प्रहरीलाई भनेर मुद्दाबाट नाम कटाउन लगाएको भन्दै जसपाका मधेस प्रदेशसभा सदस्य सहिदा खातुनले कासिमका आमा दिपर खातुनसँग ४० हजार रुपैयाँ माग गर्न थाले। गाउँबाट कासिमलाई भगाउन पनि उनले भन्दै आए। तर, दिपरले पैसा दिएनन्। गाउँका केही व्यक्तिलाई आफूसँग सांसद खातुनले पैसा मागेको कुरा सुनाइन्। उनका पक्षका गाउँलेहरूले अन्य नेतासँग भनसुन गरे। कासिमको नाउँमा मुद्दामा नभएको र सांसदले झुटो बोलेको भन्दै दिपरलाई सुनाए।
केही दिनपछि सांसदका पति मोहम्मद हकिमले फेरि पैसा मागेको स्थानीय मोहम्मद रजाबुलको भनाइ छ। ‘दिपर खातुन गरिब हो। उनी गाउँमा ठेलामा सानो व्यवसाय गरेर गुजारा चलाउँदै आएका छन्। गरिबसँग सांसदले पैसा माग्दा अन्य गाउँले त्यसको खोजबिनमा लाग्यो,’ रजाबुलले भने, ‘पुस ७ गते सांसद ठेलामै पुगेर पैसा माग्यो। त्यसपछि भोलिपल्ट गाउँका मानिसहरू भेला भयो। कहाँ खर्च गरेको छ सांसदले पैसा भनेर माग गर्न थाल्यो र सांसदलाई भेलामा बोलाउन लगायौं तर, सांसद आउन मानिनन् उल्टै गाली गर्न थाल्यो।’ गालीगलौज सुरु भएपछि कुटाकुट भएको उनले सुनाए।
विवाद २
यो गाउँमा ४० घर मुस्लिम समुदायको बसोबास छ। उनीहरूको बालबालिका गाउँकै मदरसा अहले सुन्नत ताजदारे मदिनामा पढ्छन्। मदरसाका अध्यक्ष हुन्, मोहम्मद शोवरत। यहाँ मौलवी मोहम्मद आसिक शेखले ती बालबालिकालाई पढाउँदैछन्। मौलवीका अनुसार ७२ जनाको नामांकन भए पनि ३५ जना जतिमात्रै नियमित पढ्न आउँछन्। यसमा नगरपालिकाबाट बर्सेनि दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, इन्टरनेट जडान र परम्परागत विद्यालय वार्षिक एकमुष्ट अनुदानमा ५ लाख रुपैयाँ आउने गरेको छ। अनुदान आएको रकम यहाँ सदुपयोग नभइरहेको सांसद खातुनले आरोप लगाउँदै आएकी छिन्। पटकपटक हिसाब सार्वजनिक गर्न दबाब बढाउँदै पनि आएकी थिइन्। त्यही विषयलाई लिएर शोवरत र सांसद खातुनबीच विवाद हुँदै आएको थियो।
स्थानीयका अनुसार सांसद खातुनले मदरसा बनाउन बजेट ल्याइदिने भन्दै गाउँमा जग्गा किन्न लगाएकी थिइन्। गाउँमा चन्दा उठाएर १० धुर जग्गा किनियो। बजेट आउन त आयो तर, सांसदले भने जस्तो आएन। गाउँलेहरू त्यो देखेर रिसाएका थिए। १२ लाख आउँदा मदरसामै कम्पाउन्ड वाल लगाइयो। उपभोक्ता समितिमा पनि सांसद पक्षका मानिसलाई समावेश नगरेको स्थानीयले सुनाए। ‘मदरसा विषयमा कुनै विवाद छैन। सांसदले घटनालाई अर्को मोडतिर धकेल्न यो कुरा उठाएको छ। बालबालिकालाई सबै सुविधा दिइएको छ,’ सोवरतले भने,‘ आफू सांसद भएको सान देखाउन खोज्दा गाउँमा पटक–पटक सांसद खातुनकै कारण झै–झगडा हुने गरेको छ।’ गाउँमै अझै सांसदकै कारण कुटाकुट हुने हो कि भनेर त्रास बढेको उनले सुनाए। पटक–पटक विभिन्न मुद्दामा सांसदले गाउँलेहरूलाई त्रसित बनाउने कार्य गर्दै आइरहेको उनको आरोप छ।
विवाद ३
सांसद खातुन र हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह पहिले जसपामै थिए। पछि सिंह जसपा छोडेर एमाले प्रवेश गरे। प्रदेशसभामा प्रत्यक्षतर्फ चुनाव पनि जिते। मधेस सरकारमा मन्त्री छन्। सिंह एमालेमा गए पनि सहिदा गइनन्। त्यहाँका कार्यकर्ता दुई पक्षमा बाँडिए। कार्यकर्ता बाँडिएपछि पटक–पटक यहाँ विवाद हुने गरेको स्थानीयले सुनाए।
सांसद खातुनले मागेको भनेको रकम, मदरसाको बजेट र जसपा–एमालेबीच विवादले कुटाकुटसम्म भएको प्रहरीको भनाइ छ। प्रहरी प्रतिवेदनअनुसार कुटपिट घटनामा मोहम्मद आलम, मोहम्मद रजाबुल, मोहम्मद अजिज अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही बढाइएको थियो। उनीहरू २१ दिन थुनामा बसेर धरौटी राखी रिहा भएका छन्। तर, सांसद खातुन पक्षले ज्यान मार्ने मुद्दा दिएका छन्। ज्यान मार्ने दाबी गरिए पनि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएका छन्। ९ जनालाई प्रतिवादी बनाएका छन्। घाँउ जाँच प्रतिवेदनअनुसार थप मुद्दा दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी गराए। सांसदले ज्यान मार्ने मुद्दा दर्ता गर्न र अझै केही व्यक्तिहरूलाई पक्राउ गर्न माग गरेको उनले सुनाए।
सांसद खातुनसँग विवाद भएको अर्को पक्ष जाहिर मियाँ मनसुर पक्षका घाइतेहरूले पनि ज्यान मार्ने उद्योगमा खातुनसमेतलाई विपक्षी बनाई इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी दिएका छन्।
पुस ८ गते भएको कुटपिटमा सांसद खातुन पक्षका उक्सार खातुन, सलमा खातुन, जलासिका खातुन, धनुषाका रहिम मियाँ, सहिदा खातुन, रहना खातुन, खैरुण खातुन, रुकसना खातुन र हकिम मोहम्मद घाइते भएका थिए। उनीहरू उपचार पछि घर फर्केका छन्। जाहिर मियाँ मनसुर पक्षमा मोहम्मद सोवरत मियाँ, तेतरी खातुन, हजारा खातुन, छेदुनी खातुन, धजिला खातुन, जाहिर मियाँ मन्सुर, नसिमा खातुन, रबिना खातुन घाइते भएका थिए। उनीहरू पनि उपचारपछि घर फर्किसकेका छन्।