काठमाडौं । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएका छन् । माघ १६ गते न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले चालकको चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेश जारी गरेको हो ।

कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध विवेक चौधरीले रिट दायर गरेका थिए । उनले सवारी चालकको चाबी खोस्ने कार्यले व्यक्तिको निजी सम्पत्तिमा हस्तक्षेप गर्ने र संविधानको धारा १६ र १७ ले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने तथा स्वतन्त्रताको अधिकारको उल्लङ्घन हुने बताएका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ र १६० ले प्रहरीलाई कारबाहीका लागि केही अधिकार दिएको भए पनि सवारी चालकको चाबी खोस्ने अधिकार भने स्पष्ट रूपमा छैन । अदालतले मनोमानी रूपमा चाबी खोस्ने कार्यले राज्यको अनावश्यक हस्तक्षेप र व्यक्तिको गरिमामा आँच पुर्‍याउने भएकाले यस्तो कार्य तत्काल रोक्नुपर्ने ठहर गरेको छ ।

पाटन उच्च अदालतले ट्राफिक प्रहरीलाई कानुनअनुसार मात्र कारबाही गर्न निर्देशनात्मक आदेश दिएको छ । निर्देशनात्मक आदेशको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन । अदालतको आदेशपछि प्रहरीले कानुनको दायराभित्र रहेर मात्रै सवारी जाँच गर्नुपर्ने भएको छ ।

सडकमा विदेशी पर्यटकको समेत चाबी खोसेर प्रहरी विवादित बनेको घटनापछि यो विषयले थप चासो पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!