
सिरहा । सिरहा सदरमुकाममा रहेको जिल्ला कारागारमा भईरहने अवैध कृयाकलापको विषयमा छानबिन गरी तयार पारेको प्रतिवेदन अलपत्र परेको छ ।
कारागारमा अवैध रुपमा लागुऔषधको कारोबार, मदिरा लगायतका अवैध रुपमा विभिन्न कारोबार भईरहेको विषयमा सामाचार सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको थियो । डिएसपी नेतृत्वमा समिति गठन गरि छानबिन गरी तयार गरिएको प्रतिवेदन अलपत्र परेको छ । डेढ महिनाको अनुसंधान पूरा गरी तयार गरिएको प्रतिवेदन छानबिन समितिले जिल्ला प्रशासन कार्यालय सिरहामा ९० पृष्ठको प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन जिल्ला प्रशासन कार्यालयको दराजमा थन्किएर अलपत्र परेको हो ।

छानबिन समितिले सिरहा कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख संकलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालाहरूसँग अन्तरक्रिया गरी प्राप्त जानकारी समेटेर प्रतिवेदन तयार गरेको हो ।
सिरहा कारागारभित्रै कारागारका मूलनाइके विजय महतो र नाइके इन्द्रजीत यादव मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सार्वजनिक गरेको थियो । कारागारभित्र पाँच गुणासम्म मूल्यमा लागूऔषध पाईने गरेको तथ्य सार्वजनिक भयो । कारागारमा कैदीबन्दीले पैसा बुझाएपछि बाहिर निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट हुँदै आएको, चौकीदार र प्रशासन मिलेर पैसा उठाउने गरेको तथ्य सार्वजनिक भएपछि समितिले छानबिन थालेको हो ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुखसमेत रहेका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा समिति गठन गरेको थियो । समितिमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र कारागारका प्रतिनिधि गरी ५ जना थिए । कार्तिक २७ गतेदेखि काम सुरु गरेको समितिले मंसिर ११ गतेसम्म सक्ने गरी १५ दिनको समय पाएको थियो । निर्धारित समयमा अनुसंधान पूरा हुन नसक्ने भन्दै समितिले थप समय माग गरेपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो ।
यता सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सिरहा कारागारको छानबिन गरिएको विषयमा तयार गरिएको प्रतिवेदन सार्वजानिक नभएको बताएका छन् । प्रतिवेदन सार्वाजनिक हुने क्रममा रहेको भन्दै सहायक प्रजिअ बरालले भने, ‘प्रतिवेदन सार्वजनिक भएको छैन्, । कहिले सम्म सार्वजानिक हुन्छ भन्न सकिदैन् ।’