
तेस्रो दलमा खुम्चिए पनि डेढ वर्ष सरकार चलाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६ महिनादेखि प्रतिपक्षमा छन्। प्रतिपक्षमा उनी मात्र होइन राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादी, सदाबर मन्त्री बन्दै आएका उपेन्द्र यादव (जसपा नेपाल) अनि पहिलो चुनावमै चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता बाहिर छन्। रास्वपा त आफ्ना सभापति रवि लामिछानेविरुद्ध एकपछि अर्काे सहकारी ठगी मुद्दा चल्न थालेपछि रन्थनिएको छ, उ जसैगरी सत्ता सहयात्री बन्न चाहन्छ।
अहिले प्रतिपक्षमा पुग्दा सबैभन्दा बढी छटिपटी प्रचण्डमा छ, उनी अब संसदको यो कार्यकालमा प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिसकेका छन्, बरु जसरी पनि सत्तारुढ बन्न चाहन्छन्। प्रतिपक्षमा पुगेपछि माधवकुमार नेपाललाई एकीकृत समाजवादी र उपेन्द्र यादवलाई जसपा नेपाल दल जोगाउन हम्मेहम्मे छ। कतिखेर सांसदहरु दल विभाजन गर्ने हुन् भन्ने पिर छ।

त्यही भएर प्रचण्डले सरकार ढाल्ने खेल घोषित रुपमा सुरु गरेका छन्। यो अस्थिरताको खेलमा साथ दिन आइपुगेका छन्, माधवकुमार नेपाल,उपेन्द्र यादव,डिपि अर्याल, राजेन्द्र लिङदेन लगायत छन्।
प्रचण्ड आफू रिल्याक्स गरिरहेको, बरु जनतासामु जाने तर सरकार परिवर्तनको खेलमा नलाग्ने बताउँदै आएका थिए। तर, उनले विपक्षी दलको मोर्चा बनाउने कसरत सुरु गरेका हुन्। माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, नेसपा, आज र राजमो एक ठाउँमा उभिएका छन्। संयुक्त वक्तव्य जारी गरेर कुनै पनि बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही स्वीकार्य नहुने बताएका छन्। शुक्रबार बैठकपछि बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक अध्यक्ष डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, आम जनता पार्टीका सह–अध्यक्ष तिलक थापामगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।
वर्तमान सरकार टिकाइराख्नका लागि विपक्षी दललाई फुटाउन खोजिएको समेत ७ दलको भनाइ छ । ‘स्वेच्छाचारी र तानाशाही ढङ्गले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ । लोकतन्त्रको सुन्दरता नै फरक मत र विविधताको सम्मान हो । यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका उपर्युक्त कदमको हामी विरोध गर्दछौँ,’ संयुक्त प्रेस वक्तव्यमा भनिएको छ।
प्रचण्डले अब सरकार ढल्ने बताए पनि उनीहरुसँग बहुमत पुग्दैन। अब विपक्षी मोर्चामा ८० सांसद एकठाउँमा देखिएका छन्। माओवादीसँग ३२, रास्वपासँग २१, राप्रपासँग १४, एकीकृत समाजवादीसँग १० र अरु तीन दलसँग एक, एक सांसद छन्। लोसपा, जनमत र नाउपा हालसम्म विपक्षी गठबन्धनमा मिसिएका छैनन्। सरकार बनाउन १३८ सिट चाहिन्छ। अहिले सरकार चलाइरहेका मुख्य दुई दल कांग्रेस र एमालेसँग नै पर्याप्त बहुमत छ। कांग्रेसको ८८, एमालेको ७८ सिट छ।