काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानबिन गर्नुपर्ने बताएका छन्।
मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले आमनागरिकले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेका बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए।
उनले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचारमुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए। अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने उनको भनाइ थियो।
उनले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने उल्लेख गरे।
उनले भने, ‘आम नागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोच्छ। भ्रष्टाचारले हामीलाई यति गाँज्यो कि हामीले ठीक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छ भने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ, त्यसलाई न्यून गर्ने कुरामा ध्यान दिनुपर्छ।
जति नेपाली जनताले सुनेका काण्डहरु छन्, त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरिबन्धुको होस्, शिविरको होस्। जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौँ।’
महामन्त्री थापाले नेपाली कांग्रेस कानुनको शासन मान्ने बताए। उनले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए।