मलंगवा : मलंगवामा रहेको सर्लाही क्याम्पसबाट परीक्षा केन्द्र हटाएको विरोधमा विद्यार्थी आन्दोलित बनेका छन्। स्नातक तह पहिलो वर्षको परीक्षा केन्द्र सर्लाही क्याम्पसबाट हटाएको भन्दै आन्दोलित बनेका विद्यार्थीले क्याम्पस अगाडि मलंगवा नवलपुर सडकखण्ड अवरुद्ध पारेका छन्।
परीक्षाको मुखमा आएर परीक्षा नियन्त्रण कार्यालयले केन्द्र हटाएको भन्दै विरोध गरेको उनीहरुले जनएका छ्। विद्यार्थीले सडकमा टायर बालेर प्रदर्शन गर्दा यातायातका साधन चल्न सकेको छैन।
यसअघि बरहथवा, सुकेपोखरी र लालबन्दीको परीक्षा केन्द्र सर्लाही क्याम्पसमा तोकिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई दुख दिने मनसायका साथ परीक्षा केन्द्र अन्य जिल्लामा सारेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति धमेन्द्र यादवले आरोप लगाएका छन्।
उनले भने, ‘जिल्ला सदरमुकाममा परीक्षा केन्द्र नराखी अन्य जिल्लामा परीक्षा केन्द्र लगिएको छ। सदरमुकाममा हुँदा विद्यार्थीलाई आवत जावत गर्न सजिलो थियो।’
आन्दोलनमा उत्रेका विद्यार्थीहरूले आज बिहान नियन्त्रण कार्यालयको विरोधमा नाराबाजी गरेका थिए। अहिले उनीहरू सडकमा काठको मुढा राखेर टायर बालेर आन्दोलनमा उत्रेका छन्।