आज कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपालद्वारा आयोजित कृषि मेला तथा किसान प्रदर्शनी २०८१ रामपुर, चितवनमा वन मन्त्रालयका प्रतिनिधि र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको उपस्थितिमा उद्घाटन गरियो। उक्त मेलामा १०० भन्दा बढी कृषि स्टलहरूले किसान, विद्यार्थी, कृषि उद्यमी तथा नीति निर्माताहरूका लागि नवीनतम प्रविधिहरू प्रदर्शन गरेका छन्।
मेलामा विश्वविद्यालयहरू, विकास कार्यालय, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लगायत विभिन्न क्षेत्रका सहभागीहरू रहेका छन्।

मधेश प्रदेशबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका समावेशी क्याम्पसका प्रतिनिधिहरूले मधेशको सांस्कृतिक र परम्परागत खाद्य सामग्रीहरूको विविधता प्रदर्शन गरे। ती परिकारहरूले स्थानीय भण्डारण प्रणाली, दैनिक जीवनमा प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न खेलेको भूमिकाबारे जानकारी गराइएको थियो।
मधेशी समुदायले परम्परागत रूपमा घरमै तयार गर्ने र आवश्यकताका कठिन समयमा प्रयोग गर्न खेतमा फलेका अन्नबालीको उपयोग गर्ने यी उत्पादनहरू प्रदर्शित गरिएका थिए।
बर्दिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरूले स्थानिय रूपमा तयार गरिएका खाद्य परिकारहरूको महत्वलाई उजागर गर्दै तिनमा मूल्य अभिवृद्धि र कृषि व्यवसायको सम्भावनाबारे जानकारी प्रदान गरे।
प्रदर्शित परिकारहरूमा बिरीया, अमुध, माछा अचार, अधौरी, मस्यौरा, धनौरी, तिल्लौरी लगायतका परम्परागत परिकारहरू रहेका छन्। यी परिकारहरूले सांस्कृतिक मूल्य संरक्षण, सामाजिक र आर्थिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।




