महान् पर्व दसैँको अवसरमा सबैभन्दा धेरै लत्ताकपडा, खाद्यान्न, पूजाआजाका सरसमानहरू खरिद गरिन्छन् । त्यसैले पनि व्यापारीहरूमा यो समय निकै उत्साहप्रद रहन्छ । समग्रमा भन्नुपर्दा व्यापारीहरूको कमाउने सिजन नै यही हो । तर, यस वर्षको दसैँको परिस्थिति अलि भिन्न बनेको छ । व्यापारीहरूमा खासै उत्साह देखिँदैन । बजारमा ग्राहकको भिड त देखिन्छ तर व्यापारी भन्छन्– व्यापार नै छैन ।
इन्द्रचोकबाट थोरै भित्रको चोखाचे गल्लीमा छ रविकुमार चोदारको फेब्रिक होलसेल तथा रिटेल पसल । उनले त्यहाँ पसल सञ्चालन गरेको करिब ८ महिना भयो । त्यसअघि करिब ८ वर्ष उनले रञ्जना होलसेल मार्केटमा यही व्यवसाय गरिरहेका थिए ।
लगडाउनअघि व्यापार निकै राम्रो थियो । आम्दानी पनि राम्रै थियो । सरदर ४०, ५० जना दैनिक ग्राहक आउँथे । त्यसमा पनि दसैँ, तिहारजस्ता चाडपर्वका बेला त झनै ग्राहकको थेग्नै नसकिने घुइँचो नै लाग्ने गर्थ्यो । काठमाडौंबाहिरका व्यापारी पनि उनको पसलमा पुग्थे । तर कोरोनापछि ओरालो लागेको व्यवसाय यसपालिको दसैँको समयमा समेत झनै दयनीय अवस्थामा पुगेको रवि सुनाउँछन् ।
इन्द्रचोकबाट भित्रपट्टि नै रहेको अर्को मख्खन गल्लीमा वर्षौंदेखि शंकर पराजुलीले कस्मेटिक सामग्रीको होलसेल पसल सञ्चालन गरिरहेका छन् । उनको पसलमा पनि पहिलापहिला त काठमाडौंभित्रका मात्र नभएर बाहिरका समेत थुप्रै व्यापारी सामान किन्न पुग्थे । तीज, दसैँ, तिहारजस्ता चाडमा त झनै अन्य समयको भन्दा तीन गुणा बढी व्यापार हुन्थ्यो । दैनिक करिब ५ लाख रुपैयाँबराबरको व्यापार उनले गर्थे । तर, अहिले त रविकुमारको जस्तै शंकर पराजुलीको पसल पनि मध्य दसैँमा पनि सुनससान देखिन्छ ।
बजारमा ग्राहक निस्किए पनि आर्थिक मन्दीले उनीहरूमा क्रयशक्ति अत्यन्तै न्यून भएकाले सामान खरिद गर्ने क्षमता नदेखिएको व्यापारीहरू बताउँछन् । सँगै दसैँकै मुखमा परेको अविरल वर्षापछि देशैभर गएको बाढी र पहिरोका कारण पनि यस वर्ष अपेक्षाअनुरुप व्यापार नभएको व्यापारीहरूको भनाइ छ ।