जारी इरान । इजरायल युद्धले तेस्रो विश्वयुद्धको रूप लिने हो कि भन्ने त्रास व्याप्त भएको छ । इजरायललाई लक्ष्य गरी इरानले एकै दिन १ सय ८१ मिसाइल प्रहार गरेपछि विश्वकै आम नागरिक त्रसित बनेका छन् । इजरायलले पनि इरानको उक्त कार्यको बदला लिन्छौं भनेर धम्की दिइसकेको छ । यी दुवै मुलुक सैन्य क्षेत्रमा निकै अग्रणी मानिन्छन् । उनीहरूसँग हातहतियार प्रशस्तै छन् । इजरायलसँग आणविक अस्त्र नै छ भने इरानसँग आणविक बम बनाउने युरेनियमको ठूलो खजाना छ ।
आणविक युद्ध भएमा त्यसले कस्तो भयावह रूप लिन्छ भन्ने त दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा देखिइसकेको छ । कुनै पनि किसिमका युद्ध रोक्नु सम्पूर्ण विश्वका शान्तिकामी जनताहरूको दायित्व बन्न गएको छ । अहिले दुवै मुलुकलाई उक्साउने शक्तिहरू पनि निकै छन् । यद्यपि शान्तिका लागि प्रयास गर्ने पक्षहरू नभएका होइनन् । तथापि दुवै मुलुकका सरकार प्रमुखहरू शान्ति चाहने पक्षको कुरा सुन्न चाहिरहेका छैनन् । जसले गर्दा युद्धको भय कम हुन सकेको छैन ।

अब संयुक्त राष्ट्रसंघ कडा रूपमा प्रस्तुत हुनुपर्छ । अन्यथा विश्व पुनः अशान्तिको सुरुङमा लामो समय रुमल्लिनेछ । यो अवस्था किन र कसरी आयो भन्नेबारे पनि गम्भीर विश्लेषण हुनु आवश्यक छ । मुस्लिम राष्ट्र, मध्यपूर्वका राष्ट्रहरू समस्याको जड इजरायल रहेको बताइरहेका छन् भने पश्चिमा मुलुक अमेरिका, बेलायतलगायत इरान, लेबनान र प्यालेस्टाइनलाई दोषी देखाइरहेका छन् । स्वतन्त्र आँखाले हेर्दा इरान–इजराइल दुवै मुलुकको दोष देखिन्छ । हमासले सुरुमा इजरायलमाथि आक्रमण नगरेको भए यो युद्धको सुरुवात नै हुने थिएन । त्यसपछि बदला लिने नाममा पचासौं हजार प्यालेस्टिनीलाई मार्नु इजराइलको पनि गल्ती हो । इजरायलले आफ्नो वरिपरिको सबै राष्ट्रको अस्तित्व नै समाप्त पार्ने सोच पाल्नुलाई सही मान्न सकिन्न । त्यसको बदलामा लामो दूरीबाट इरानले इजरायलमा मिसाइल दाग्नु त्यो भन्दा ठूलो गल्ती हो ।
उता विश्वशक्ति राष्ट्र अमेरिकाले दुवै पक्षलाई सम्झाउनुको साटो उल्टो इजरायललाई मात्र एकपक्षीय साथ दिन्छौं भन्नु पनि न्यायोचित होइन । आज इजरायल अमेरिकाकै बलमा एकसाथ प्यालेस्टाइन, लेबनान, यमन र इरानलाई ध्वस्त पार्न खोज्दै छ, जो उसको ठूलो भूल हुनेछ । कुनै एक–दुई राष्ट्रको गल्तीले पूरै विश्वको शान्ति खलबलिने परिस्थिति उत्पन्न हुनु कुनै हालतमा उचित होइन । यसर्थ सम्भावित तेस्रो विश्वयुद्ध रोक्न नेपाललगायत सम्पूर्ण शान्ति चाहने मुलुकले कडा रूपमा विरोध गर्नुपर्छ ।




