काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बन्दसत्र स्थगन गरिएको छ।
साेमबार कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान भएको थियाे।
उक्त दिनमा विवाद हुँदा बुधबारका लागि बन्दसत्र बाेलाइएकाे थियाे। तर आज पनि विवाद जारी रहँदा अध्यक्ष मण्डलले विज्ञप्ति जारी गर्दै बन्दसत्र पुन: असोज १७ गते बिहीबार १० बजे सुरु हुने जानकारी गराएको छ।
साेमबार उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी देखाएका थिए। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्।
उनी अध्यक्ष पदका लागि दाबेदार छन्। नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको हो। यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो।