सिरहा । संविधान दिवस– २०८१ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
दिवसको अवसरमा आज विहान ८ बजे देखि सिरहा नगरपालिका, प्रादेशिक अस्पताल सिरहा, स्वास्थ्य कार्यालय, सिरहा र नेपाल रेडक्रस सोसाईटी सिरहाको समन्वय र सहयोगमा जिल्ला कारागार परिसरमा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न स्वास्थ्य कार्यालय सिरहाले कार्यक्रम राखेको छ ।

त्यस्तै राजधानी काठमाडौंस्थित टुँडिखेलमा आयोजना हुने संविधान दिवस सम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागीको विशेष सहभागिता हुन लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएर १०औं वर्षमा प्रवेश गरेको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान–२०६३ खारेज भएको थियो । संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

देशभर विरोध पनि संविधान अपूर्ण रहेको भन्दै देशभर विरोध पनि भईरहेको छ । संविधान जारी गर्दा मधेशमा आन्दोलन जारी रहेको थियो । मधेशको अधिकारलाई संविधानमा समावेश गर्न दलहरुले अनाकानी गरी बलजफ्ती संविधान जारी गर्न खोजेपछि आन्दोलन भएको थियो । आन्दोलन जारी रहँदा संविधान जारी भएको थियो । संविधान जारी गरेको असोज ३ मा मधेशका विभिन्न जिल्लामा प्रहरीले व्यापक गोलीप प्रहार गरी मधेशी नागरिकको हत्या गरेको थियो । त्यही भएर मधेश लगायत देश र विदेशमा पनि संविधान अपूर्ण भएको भन्दै ब्ल्याकआउट जस्ता कार्यक्रम हुँदै आएको छ । कतिपय युवाहरुले आफ्नो समाजिक सञ्जालको फ्रोफाईल फोटो विरोधको रुपमा कालो बनाएको छ । यस्तै विभिन्न स्थानमा विरोधका कार्यक्रम गर्न विभिन्न मधेशवादी राजनीतिक दलले कार्यक्रम सार्वजनिक गरेको छ ।




