सिरहा । सिरहा नगरपालिका ८ महिसौथा स्थित श्रीआधारभूत विद्यालय महिसौथाका विद्यार्थीलाई हेल्प मधेशी ५२ नं. बलदियाँ दलान (दोहा कतार)ले विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
हेल्प मधेशी ५२ नं. बलदियाँ दलान (दोहा कतार)ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रीआधारभूत विद्यालय महिसौथाका ७० जना विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेको र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने उदेश्यले हेल्प मधेशी कतारले विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
विद्यालयमा सोमबार आयोजित एक समारोहका बीच हेल्प मधेशी ५२ नं. बलदियाँ दलान (दोहा कतार)का संयोजक रासिन्द्र प्रसाद यादवले सहयोग स्वरुप विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरेको छ । समारोहमा बोल्दै संयोजक यादवले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको बताए ।
संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको हेल्प मधेशी ५२ नं. बलदियाँ दलान (दोहा कतार)ले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
“शिक्षक र शिक्षिकाले अभिभावकलाई तपाईको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौं भन्ने प्रतिबद्धता गरेर भर्ना गराउनुपर्छ, सिरहा नगरपालिका ८ का वडाध्यक्ष योगेन्द्र हजरा यादवले भने, मेरो ठाउँबाट हुने सहयोगमा कदापि पछि हट्दिन । यसरी प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन सकिने विश्वास मलाई लाग्छ ।’’
उनले यो विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । यसबाट विद्यार्थीहरु निकै खुसी भएका छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र बिद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे ।
यसैगरी विद्यालयका प्राधानाध्यापक दिनेश कुमार यादवले राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक पनि उतिकै इमान्दार हुनुपर्ने उनले धारणा राखे । ‘‘विगतको तुलनामा अभिभावकहरुको आकर्षण सामुदायिक विद्यालयप्रति बढिरहेको छ, प्राधानाध्यापक यादव भन्छन्, यस क्रमलाई विस्तारै उकास्न जरुरी छ । जसमा सबैको सहयोग आवश्यक छ ।’’