जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडको धनुषा (महेन्द्रनगर)स्थित शाखा कार्यालयमा कार्यरत दुई कर्मचारीबिच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी रञ्जन आबाका अनुसार मृत्यु हुनेमा सिरहा नगरपालिका– ३ का राकेशकुमार बर्मा रहेका छन् । उनको बेल्चा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटाकुटमा संलग्न अर्का कर्मचारी धनुषाधाम– ३ का प्रकाश यादवलाई प्रहरीले निगम कार्यालयबाटै पक्राउ गरेको छ ।
दुवै कर्मचारी करारमा कार्यरत रहेको निगमले जनाएको छ । शुक्रबार बिहान १०:३० बजे दुवैबिच सामान्य विवाद भएपछि कुटाकुटमा उत्रिएर घटना घटेको प्रहरीको प्रारम्भिक विश्लेषण छ । मृत्यु हुने बर्मा चार वर्षदेखि करारमा कार्यरत थिए।
निगम कर्मचारीहरूले घटना घट्नुमा महेन्द्रनगरस्थित शाखा कार्यालय प्रमुख मनोजकुमारको कमजोरीसमेत रहेको औँल्याएका छन् । गत १९ जेठमा उनी कार्यालय प्रमुख भएर पुगेयता कर्मचारीका समस्या समाधानका लागि समन्वय नगर्ने, पेट्रोल पम्प व्यवसायी र ट्यांकरधनीलाईसमेत अनावश्यक दुःख दिन थालेकोलगायतका गुनासो बढ्न थालेको छ ।
कार्यालय प्रमुख बस्ने एकतले क्वार्टर सँगै रहेको र नेपाल आर्मीसमेत डिपो जोडिएकै जग्गामा रहँदा पनि कर्मचारीबिच कुटपिट भई मृत्युसम्म हुँदा दुवै निकायले थाहा नपाउनु चरम लापरबाही भएको एक कर्मचारीले बताए । ‘डिपो छिर्ने गेटमा आर्मी बसेको छ, कार्यालय प्रमुखको क्वार्टर पनि सँगै जोडिएको भवनमा छ । तैपनि यति ठूलो घटना हुनु खेदजनक छ,’ ती कर्मचारीले भने ।