पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।’

उनले थपे, ‘पञ्जाबबाट आउने र जाने सवारीसाधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो।’

काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन्।

जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन्।

उनले भने, ‘यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बिएलए) का लडाकु जिम्मेवार रहेको देखिन्छ।’

बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो।

यसभन्दा पहिला शनिबार र आइतबार बलूचिस्तानका विभिन्न ठाउँमा बम विष्फाेटकाे खबर आएकाे थियाे। ताजा घटनालाई लिएर बलूचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले रिपाेर्ट मागेका छन्। उनले घटनाकाे निन्दा गर्दै इमरजेन्सी बैठक पनि बाेलाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय