सिरहा । नेकपा माओवादीको मधेश प्रदेश संसदीय दलको विवाद थप चुलिएको छ । मधेस प्रदेश संसदीय दल नेता भरत साहमाथि अधिकांश दलका सदस्यले अविश्वास गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका हुन् ।
खुमलटारमा शनिबार बिहानको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ लगायत अन्य पदाधिकारीहरू पनि सहभागी थिए । साह अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा अनियमितता गरेको, पार्टी संसदीय दलको कुरा नसुनेको र बजेटमा आफैले चलखेल गरेर बजेटमा गडबढी गरेको आरोप माओवादीकै सांसदहरूले लगाएका थिए ।
साहलाई प्रचण्डले दुई महिनाको समय दिएर राजीनामा दिन भनेका छन् । खुमलटारमा मधेस संसदीय दलका सदस्यहरूसँग शनिबार बिहान भएको छलफलपछि प्रचण्डले दल नेता साहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन् । गत असार २५ गते ६ जना प्रमुख सचेतक फकिरा महतोसहित सांसदहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराईलाई बुझाएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार दल नेता साहविरूद्ध मधेसमा माओवादीका नौजना मध्ये ६ जना सांसदले अविश्वास प्रस्ताव बुझाएका थिए । सोही विषयमा छलफल गर्न प्रचण्डले पार्टीका सवै सांसदहरूलाई काठमाडौं बोलाएका थिए ।