धनुषा । मधेश प्रदेश सरकारले प्रदेशको मन्त्रालय र प्रशासनिक भवन राख्ने स्थानको खोजी सुरु गरेको छ । मन्त्रालयको प्रशासनिक भवन जीर्ण भएको भन्दै नयाँ विकल्पको खोजीमा मुख्यमन्त्री र मन्त्रीहरू जुटेका छन् । त्यसका लागि प्रयोगविहीन अवस्थामा रहेको सरकारी जग्गा, भवनको अनुगमन र  छलफल सुरु गरिएको छ ।

बिहीबार मन्त्रीपरिषदको बैठकलगत्तै मुख्यमन्त्री सतिश कुमार सहित मन्त्रीको टोली प्रयोगविहीन सरकारी जग्गा तथा भवनको निरीक्षण थिए ।

टोलीले धनुषाको नक्टाझिझस्थित कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवन निरीक्षण गरेका थिए । सरकारको स्वामित्वमा रहेको कृषि निर्देशनालय परिसरमा २८ विघा जग्गा छ । त्यँहा कृषि बिरुवा, धान, गँहु उत्पादन समेत हुन्छ ।

त्यस्तै, संघीय सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रयोगविहीन तथा जीर्ण भवनको पनि निरिक्षण गरिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज यादव, श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, स्वास्थ्य मन्त्री शत्रुधन सिंह, कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी कुमारी तिवारीलगायत सहभागी थिए ।

त्यसक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको साधन श्रोतलाई उचित प्रयोग गर्न निर्णयसहित सरकारी जग्गाको निरिक्षण गरेको बताए । ‘आफ्नै भवन संरचना नहँदा सेवा दिन समस्या भयो । एउटै भवनमा ४ मन्त्रालय राखिएका छन,’ उनले भने, ‘त्यसको विकल्पमा स्थान खोज्न जुटेका छौ । संघीय सरकारको संरचनाहरू जीर्ण अवस्थामा छन् । प्रयोगविहीन संरचना प्रशासनिक कार्य र अवासका लागि कसरी उपयोग गर्नेमा निरिक्षण सुरु गरेका छौ ।’

उनले जनकपुर चुरोट कारखाना परिसरको संरचना प्रयाप्त नभएकोले विकल्पहरू खोज्ने काम भएको बताए । प्रदेशका मन्त्रालय तत्कालै सार्नेभन्दा सरकारी जीर्ण भवन प्रयोगमा ल्याएर सेवा दिन खोजेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय