
विगत १३ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको सिरहा र धनुषा जोड्ने कमला नदीको पक्की पुल पूरा गर्न माग सहित सदरमुकाम सिरहामा प्रर्दशन गरिएको छ ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदीको रुपमा रहेको पवित्र कमला नदीमा विगत १३ वर्षदेखि पक्की पुल निर्माण जारी छ । पुल निर्माण पूर्णता पाउन नसक्दा यस क्षेत्रका नागरिकलाई व्यापक कष्ट र आर्थिक भारको सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै सिरहा सदरमुकाममा स्थानीयबासीले वृहत्त सहभागिता सहित दबाब सृजना गर्न प्रदर्शन गरेको छ ।

कमला पुल निर्माण संघर्ष समितिको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार बिहीबार सदरमुकाम सिरहाको महावीर चोकदेखि इमलि चोक, सहिद हेमनारायण चोह हुदै सहिद राजेश ठाकुर पार्कसम्म नारा–जुलुस गर्दै प्रदर्शन गरेका छन् । दबाब जुलुसमा वृहत्त जनसहभागिता रहेको जनाईएको छ । विभिन्न राजनीतिक दलले पनि विरोधमा सहभागिता जनाउन सार्वजनिक रुपमा अपिल गरेको थियो । जुलुस कमला पुल निर्माण पूरा गर्न सहित नाराबाजी गरेका थिए ।
संघर्ष समितिले आगामी आइतबार सिरहाको बसबिट्टादेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ । ‘कमलाको पुल हुलाकी सडकको मेरुदण्ड हो,’ संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले अपन दैनिकलाई भने, ‘यो पुल निर्माण पूरा नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका छौं । सरकारले आफैं सोच्नु पथ्र्याे । हामीलाई आन्दोलन गर्नुपर्ने बाध्य बनाएको छ ।’
यसअघि गत जेठमा चालु आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि पनि स्थानीयले सिरहामा आन्दोलन गरेका थिए । बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गर्ने गरी बजेट विनियोजन हुनुपर्ने उनीहरूको माग थियो । तर, सदरमुकाममा बजारदेखि सरकारी अड्डासम्म बन्द गरेर तीन दिनसम्म आन्दोलन भए पनि बजेटमा कमला पुलका विषयमा कुनै सम्बोधन भएन । जसका कारण स्थानीय फेरि आक्रोशित बनेका हुन् ।
यो पुल पुल शिलान्यास भएको १३ वर्ष बितिसकेको छ । कमला नदीमा ४ सय ७० मिटर लम्बाई र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा २०६८ मंसिरमा पुल बनाउन शिलान्यास भएको थियो । पुल निर्माणको ठेक्का पाएको पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले तोकिएको मितिमा पुल नबनाएपछि पटक–पटक म्याद थपिए पनि अहिलेसम्म पुल बन्न सकेको छैन ।
२०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले सदरमुकाम सिरहाको महावीर चौकमा रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्ने गरी जिम्मा लगाएको थियो । निर्माण सकेर उद्घाटनको तयारी भइरहेकै बेला २०७८ असार १७ मा सानो बाढी थेग्न नसकेर पुल भाँसियो । अहिले लुम्बिनी बिल्डर्सले पुल पुनर्निर्माण त गरिरहेको छ तर, आर्थिक समस्या देखाउँदै अपेक्षित ढंगले काममा ढिलाई गर्दा पुल अलपत्र बनेको छ ।
आमरन अनसनको बस्ने घोषणा
कमला पुल पूरा गराउने सुनिश्चितताको निम्ति अगामी आईतावर मोटरसाईकल जुलुस सहित मधेश प्रदेशको मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाउने तयार गरिएको संघर्ष समितिका संयोजक इन्जिनियर यादवले बताए । आफूहरुले ७ दिनको समय दिई पूल निर्माणको सुनिश्चितता माग गर्ने भन्दै उनले त्यसो हुन नसक्दा आमरन अनसन सुरु गरिने बताए ।
सात दिनको अल्टिमेटममा पुल निर्माणको सुनिश्चिता सरकारबाट नआएमा मुख्यमन्त्री कार्यालय अगाडी भदौ ४ गतेदेखि आमरन अनसन बन्ने गरी अनसनमा बस्नेको नामावली पनि सार्वजनिक गरिएको छ ।
सो अनसनका निम्ति सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, बल्ड फर नेपालका मनिष कुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव आमरन अनसन बस्ने नामावली सार्वजनिक गरिएको हो ।