सिरहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माण गर्न सिरहाका ईन्जिनियरहरुले संघर्ष समिति गठन गरेको छ । हुलाकी सडक तथा कमला पुल निर्माणको लागि ईन्जिनियरहरुको बसेको बैठकले संघर्ष समिति गठन गरेको छ ।
करिब १३ वर्ष अघि निर्माण कार्य सम्पन्न भई उद्घाटनको तयारी समेत भईसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भांसिएको अलपत्र पुलको पुनः निर्माण कार्यमा ढिलाई गरेको भन्दै दबाब सिर्जना गर्न ईन्जिनियरहरुले संघर्ष समिति गठन गरेको छ । ईन्जिनियरहरुको बसेको बैठकले सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ ।

समितिको सह–संयोजकमा ईन्जिनियर शिवशंकर कुमार अधिकारी, रुपेश कुमार यादव र कोषाध्यक्षमा ईन्जिनियर संजिव कामती रहेको छ । त्यस्तै सदस्यहरुमा ईन्जिनियर शैलेश गोईत, जिवन यादव, अस्मित अधिकारी, विश्वप्रताप झा, रामबाबु दास, महेश सिंह, निरंजन कर्ण, अभिनाश कुमार यादव, ईन्द्रजित यादव र सूर्य देव यादव रहेको छ ।
यस्तै समितिलाई थप बल प्रदान गर्न सल्लाहकारका रुपमा कमला नदीको सिमानामा रहेको वडा नम्बर ६ का वडा अध्यक्ष ईन्द्रजीत गोठिया, दिनेश कुमार यादव, सकलदेव यादव र सुरेन्द्र यादवलाई चयन गरिएको छ । बैठकबाट ईन्जिनियरहरुले चार बुँदे निर्णय समेत गरेको छ ।
ईन्जिनियरहरुको सो बैठकले आउँदै गरेको नेपाल ईन्जिनियरिंग एसोसिएसनको चुनाव समेत बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको लाईफलाईन मानिने र सिरहाको समग्र आर्थिक विकाससँग जोडिएको पुलको पुनःनिर्माण कार्य सम्पन्न गर्न उनीहरुको बैठकले साउन २३ गतेसम्म सिरहा नगरपालिकाको सबै वडा कार्यालयहरुमा गएर कमला पुल निर्माण सम्बन्धी जागरुकता फैलाउने निर्णय समेत गरेको छ ।
ईन्जिनियरहरुले साउन २४ गते अपरान्ह २ बजे सिरहाको रामजानकी मन्दिर महाबिर चौकदेखि थाना चौक सहिद पार्कसम्म बृहत ¥र्याली निकाल्ने बैठकबाट निर्णय गरेको छ । सोही दिन ¥र्यालीलाई कोणसभामा परिणत गर्दै उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी(सिडियो) लाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।
यसैगरी साउन २५ गते धनुषाको हुलाकी सडकमा भएका सबै चोकमा गएर सभा गोष्ठी गर्ने कार्यक्रम रहेको निर्णय भएको छ । क्रमशः साउन २७ गते बिहान ६ बजे कमला पुल, बसबिट्टा चोकदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा गएर छलफल गरी अर्को कार्यतालिका प्रस्तुत गर्ने निर्णय गरेको छ ।
कमला नदीमा पुल नबनेपछि सिरहा र धनुषाका सर्वसाधारणलाई निकै सास्ती भोग्नुपरेको छ । झन सिरहा र सप्तरीका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आउन जान निकै असहज भएको छ । बाढी आएको समयमा पुल नबन्दा उनीहरुले तीन गुणा बढी दुरीको यात्रा गर्नुपरेको बाध्यता छ ।
सर्वसाधारणहरुलाई बाढीको समयमा महेन्द्र राजमार्ग भएर अथवा भारत भएर प्रदेशको राजधानी जनकपुरधाम पुग्नुपर्ने बिकल्प हुने गरेको छ । यसअघि पनि पटक पटक सिरहा लगायतका सर्वसाधारणहरु पुल निर्माणका लागि विभिन्न आन्दोलन गर्दै आएका छन् । गएको जेष्ठ महिनामा सिरहा नगरपालिका कार्यपालिका सदस्य रबिन्द्र साहको नेतृत्वमा सिरहा बजार बन्द, टायर बालेर प्रदर्शन लगायतका कार्यक्रमहरु पनि सरोकारबालाहरुको विरोधमा गरेको थियो । उनीहरु सहितकाले प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीहरुलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि पुल बन्न सकेको छैन् । पुलको समस्या ज्यूको त्यू छ ।
यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाकार रामरिझन यादवको नेतृत्वमा संघर्ष समिति गठन भई विभिन्न विरोधको कार्यक्रम भएको थियो । उनले पछिल्लो पटक उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ, रघुवीर महासेठ लगायतलाई कमला पुल निरीक्षणको बेला कडा रुपमा ध्यानाकर्षण नै गराईसकेका छन् । सो विरोधका कार्यक्रममा प्रदेशसभा सदस्य प्रमोद कुमार यादवले पनि साथ दिएको थियो ।
पछिल्लो पटक नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले निरीक्षण गर्दै गत असार १५ गतेभित्र पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको थियो । तर, सरकारभन्दा पनि बढी बल भएका ठेकेदारले उनको निर्देशनलाई अटेर गर्दै पुलको निर्माण कार्य सम्पन्न त के १० प्रतिशत काम पनि सम्पन्न गरेनन् ।
यस्तै सिरहा नगरपालिकाका नगर प्रमुख डा.नवीन कुमार यादव पनि सम्बन्धि निकायलाई निरन्तर दबाब दिइरहेको छ । उनले प्रदेश तथा संघ सरकारका भौतिक पूर्वाधार मन्त्री र मुख्यमन्त्री तथा प्रधानमन्त्री सम्मलाई पुलको विषयमा ध्यानाकर्षण गराईरहेको छ ।
यता यसै क्षेत्रबाट पटक पटक प्रतिनिधि सभा सदस्यमा जित्ने एमालेका प्रभावशाली नेता लिलानाथ श्रेष्ठ यस विषयमा कहिल्यै आवाज नठाएको यहाँका अगुवाहरुको आरोप छ । पछिल्लो पटक पनि एमालेकै सरकार र वर्तमान पनि एमालेकै सरकार रहेपनि कमला प्रतिनिधिसभा सदस्य श्रेष्ठको उदाशिनताका कारण यो पुल अलपत्र परेको उनीहरुको उपराग छ ।
एमाले सरकारमा रहँदा पनि आ.व.२०८१।०८२ को बजेटमा पुलको लागि बजेट नराख्दा अझ यो पुल बनाउने मनसायमा सरकार नरहेको उनीहरुको आरोप छ । ‘ठुलो लागनीको पुल प्रदेश वा स्थानीय सरकारले बनाउन सक्दैन । यस्तो अवस्थामा केन्द्र सरकारले कमला पुललाई प्राथमिकतामा नराख्नु प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठकै रणनीति हुनसक्छ । उनकै यो षड्यन्त्रले पुलको अवस्था अलपत्र भएको आम सर्वसाधारणले बुझ्नुपर्ने उनीहरुको भनाई छ ।’
पुल नबन्दा सिरहा जिल्लाका विभिन्न सरकारी निकायहरु अस्पताल, अदालत, स्थानीय तह लगायतका कार्यालयहरुमा काम गर्ने कर्मचारीहरु पनि नियमित रुपमा नआउने गरेको छ । घर पायक जागरि भएपनि कमला नदीमा आवतजावत असहज भएपछि उनीहरुले सर्वसाधारणलाई नियमति रुपमा सेवा नदिएको बुझिएको छ । सातामा बढीमा ४ दिन उनीहरु कार्यालय आउने गरेको पाइएको छ ।
नदीमा पुल नबन्दा सिरहा जिल्लाको समग्र विकासमा रोकाबट भएको यहाँका बुद्धिजीविहरु बताउँछन् । उनीहरुका अनुसार पुल नबनेपछि यहाँका सर्वसाधारण आफ्नै सरकारबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुने गरेको छ । पुल नबन्दा सर्वसाधारणहरु विशेष स्वास्थ्य सेवा लगायतका सेवा सुविधा पनि आफ्नो प्रदेशको राजधानी नभएर कोशी प्रदेशको राजधानी बिराटनगर पुगेर लिनुपरेको बाध्यतामा परेको छ । ज्यान जोखिममा राखेर कोशी प्रदेशमा जानुपर्ने बाध्यता रहेको उनीहरु आर्थिक रुपमा पनि जीवन कष्टकर बनिरहेको यहाँका नागरिक समाजका अगुवाहरुको भनाई छ ।



