जनकपुर । नेपाल रेल्वे कम्पनीले एक बर्षभित्र ७ करोडभन्दा बढीको कारोबार गरेको छ । भारतीय सीमावर्ती जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुर हुँदै महोत्तरीको भंगहासम्म रेल सेवा सञ्चालनमा हुँदै आएको छ ।
नेपाल रेल्वे कम्पनीले आर्थिक बर्ष २०८०/०८१ साउनभित्र १५ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरी ७ करोड ७५ लाखभन्दा बढीको कारोबार गरेको हो । ९ लाख नेपाली र ६ लाखभन्दा बढी भारतीय नागरिकलाई सेवा प्रदान गरे बापत टिकट बेचेर सो रकम बराबरको कारोबार गरेको हो ।

भारत सरकारको सहयोगमा स्तरोन्नतीमा २६ महिनाअघि सुरु भएको रेल्वेले जयनगरदेखि महोत्तरीको भंगहासम्म दैनिक एक पटक र जयनगरदेखि जनकपुरको कुर्थासम्म ३ पटक आउजाउ गर्छ ।
पुरानो रेलको संरचना जीर्ण भएपछि स्तरोन्तीको क्रममा ६ बर्ष रेलवे सेवा बन्द भएको थियो । भारतबाट रेल खरिद गरी नेपाल ल्याइएको १८ महिनापछि बहुप्रतिक्षीत जनकपुर जयनगर रेल सेवा २०७८ साल चैत्र १९ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको हो ।



