
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ स्थित महेशबारीबाट प्रहरीले यात्रुबाहक बस चढेर लहान आउँदै गरेका दुई भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार साँझ करिब साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले यात्रुबाहक बस रोकेर चेकजाँच गर्ने क्रममा दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

भारतको मधुवानी जिल्लाको ग्राम पंचायत पिपराही झझरी टोलका करिब १८ वर्षीय निरजकुमार पासवान र वार्ड नं. १२ बलानसेर टोलका ३७ वर्षीय अरुण साहलाई जिओबस एयर पिस्तोल स्विङ् कालो रंगकाे पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरुले लुकाएर ल्याएको पेस्तोल कसलाई बिक्री गर्न ल्याएका थिए वा कुनै अपराध गर्न आएका थिए भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।