सिरहा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको घटनाप्रति सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले दुःख व्यक्त गरेका छन् ।

उनले ठुलो मानवीय क्षति हुने गरी भएको अकल्पनीय दुर्घटनामा १८ जनाले जीवन गुमाएका यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । मेयर यादवले दुर्घटनामा घाइते विमान चालकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।

दुर्घटनामा परेका यात्रुहरूको उद्धार कार्यमा घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी, दमकल–एम्बुलेन्सका चालकसहित उद्धार कर्ताहरू तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति मेयर डा. यादवले धन्यवाद व्यक्त गरेका छन् ।

उनले विमान दुर्घटनाको कारण पहिचान गर्ने, त्यसको तथ्य पत्ता लगाउँदै आगामी दिनमा मानवीय तथा यान्त्रिक कमी कमजोरी हुन नदिने साथै भविष्यमा दुर्घटना रोकथाम गर्न उच्च सजगता अपनाउन सम्बद्ध सबै पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

करिब डेढ महिनाअघि २८ जेठ २०८१ का दिन त्रिभुवन विमानस्थलमा फुल रेस्क्यु इमर्जेन्सी अभ्यास गरियो । हरेक वर्ष १० देखि २० लाख रुपैयाँसम्म खर्च गरिने यस्तो अभ्यास वास्तविक दुर्घटनाका बेला जनशक्ति खरो उत्रिन र दुर्घटनामा मानवीय क्षति कम गर्न सक्षम होउन भन्ने उद्देश्यले आयोजना गरिन्छ । तर, दोहोरिरहेका दुर्घटनाका श्रृङ्खलाले यी अभ्यासको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

विमानस्थलमा अहिले पनि आगलागीका समयमा हावाको दिशा पत्ता लगाएर रेस्क्यु थाल्ने दक्ष जनशक्तिको अभाव छ । भएका कर्मचारी पनि इमर्जेन्सीका लागि चनाखो भएर बस्नु पर्नेमा त्यसरी बस्ने गरेको पाइन्न ।

‘घटना भइसकेपछि विमानस्थल फेन्सिङभित्र ३ मिनेट भित्र रेस्क्यु थाल्नु पर्छ भन्ने म्यानुअल छ,’ उनी भन्छन्, ‘तर यो व्यवहारमा देखिएन, प्रश्न किन कर्मचारीलाई चनाखो राखिँदैन भन्ने हो ।’

उनका अनुसार यस्ता दुर्घटनामा आगो निभाउन पानी नै फालिहाल्नु पर्छ भन्ने हुँदैन । कुनै बेला पानीले झन धेरै आगो उठाउन पनि सक्छ । त्यस्तो बेला फम विच्छ्याएर पनि आगो नियन्त्रणमा लिने प्रयास गरिन्छ । सोहीकारण दुर्घटनाको प्रकृति हेरेर छिटो निर्णय लिने क्षमताको अभाव देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!