आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलिया विरुद्धको खेलमा अफगानिस्तानले प्रभावशाली जित हासिल गरेको छ।

विश्वकपको ‘सुपर-८’ अन्तर्गत आइतबार बिहान भएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १९.२ ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटियो।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ५९ रन बनाए।

त्यस्तै, मिचेल मार्सले १२ र मार्क्स स्टोइनिसले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

अफगानिस्तानका लागि गुल्बदिन नैबले चार, नवीन उल-हकले तीन, अज्मतुल्लाह ओमरजाई, मोहम्मद नबि र रशिद खानले एक-एक विकेट लिए। अन्य बलरले पनि प्रभावशाली बलिङ गरे।

यअसघि ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। अफगानिस्तानका लागि प्रारम्भिक ब्याटर रह्मनुल्लाह गुर्बाज र इब्राहिम जड्रानले अर्धशतक प्रहार गरे। गुर्बाजले ४९ बलमा चार चौका र चार छक्काको मद्दतले ६० र जड्रानले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाए।

त्यस्तै, करिम जनतले १३ र मोहम्मद नबिले १० रन बनाए। अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन, एडम झम्पाले दुई र मार्क्स स्टोइनिसले एक विकेट लिए।

यो जितसँगै अफगानिस्तानको दुई अंक भएको छ। अफगानिस्तानकै समूह १ मा रहेको भारत चार अंक सहित शीर्षस्थानमा छ। दुई अंक नै रहेको अस्ट्रेलिया रनरेटका आधारमा दोस्रो स्थानमा छ भने बाङ्लादेशले अंक जोड्न सकेको छैन।

त्यस्तै, समूह २ मा दक्षिण अफ्रिका चार अंक सहित शीर्षस्थानमा छ। वेस्ट इन्डिज र इङ्ल्यान्ड दुई-दुई अंक सहित दोस्रो र तेस्रो स्थानमा छ। अमेरिकाले अंक जोड्न सकेको छैन।

अब ‘सुपर-८’ का आठै टोलीको एक-एक खेल बाँकी छ। अहिलेसम्म कुनै पनि टोलीको सेमिफाइनल यात्रा तय भएको छैन। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहेका दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!